गण्डकीमा मन्त्रीपरिषद पूर्नगठन, कांग्रेस र एमालेबिच बराबरी भागबण्डा
  • जरूवाखबर

  • पोखरा । गण्डकी प्रदेशमा मन्त्रीपरिषद हेरफेर गरिएको छ । कांग्रेसबाट ४ र एमालेबाट ४ जना नयाँ मन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले झन्डै २ वर्षपछि मन्त्रिपरिषद् हेरफेर गरेका हुन् ।

    २०८० भदौमा एमालेका मन्त्री नियुक्त भएपछि स्थिर रूपमा चलेको गण्डकी सरकारका मन्त्रीहरू आज परिवर्तन गरिएको हो ।

    मुख्यमन्त्री सुरेन्द्र पाण्डेको सिफारिसमा बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले नवनियुक्त मन्त्रीहरुको पद तथा गोपनियताको शपथ गराएका छन्।

    नवनियुक्त मन्त्रीहरुमा  नेपाली कांग्रेसबाट जित शेरचन अर्थमन्त्री र नन्दप्रसाद न्यौपाने ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्री बनेका छन् भने सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री रेखा गुरुङ र वन तथा वातावरण मन्त्री नम्डु गुरुङ बनेका छन् ।

    यसअघि अर्थमा डा टकराज गुरुङ, सामाजिकमा विन्दुकुमार थापा र वनमा भेषबहादुर पौडेल मन्त्री थिए । यसअघि ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय भने मुख्यमन्त्री सुरेन्द्र पाण्डेले नै सम्हाल्दै आएका थिए ।

    यसैगरी एमालेबाट गोविन्दबहादुर नेपाली भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री, यशोदा रिमाल उद्योग तथा पर्यटन मन्त्री, लक्ष्मण पाण्डे स्वास्थ्य, भूमि व्यवस्था तथा सहकारी मन्त्री र भीम कार्की कृषि मन्त्री बनेका छन् ।

    यसअघि कृषिमा पद्मा जिसी, स्वास्थ्यमा कृष्ण पाठक, भौतिकमा प्रकाश केसी र पर्यटनमा मित्रलाल बस्याल मन्त्री थिए ।

    मुख्यमन्त्री तथा नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे र नेकपा ‘एमाले’ गण्डकी प्रदेश संसदीय दलका नेता खगराज अधिकारीबीच भएको सहमतिअनुसार नयाँ मन्त्रीहरू नियुक्त गरिएको बताईन्छ ।

  • २ बैशाख २०८३, बुधबार १३:१७ प्रकाशित