लेकसाईड क्षेत्रमा पर्यटकलाई दुख दिने १६ महिला पक्राउ
  • जरूवाखबर

  • पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले पर्यटकीय क्षेत्र लेकसाईडमा आन्तरिक तथा बाह्य पर्यटकहरूलाई अनावश्यक दुःख दिने र लुटपाट गर्ने कार्यमा संलग्न १६ जना महिलाहरूलाई पक्राउ गरेको छ।

    शनिबार ४ गते राति साढे ९ बजेदेखि १२ बजेसम्म जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका वडा नं। ६ लेकसाईड क्षेत्रमा छापा मारेको र सोक्रममा ती महिलाहरुलाई पक्राउ गरिएको हो ।

    प्रहरीका अनुसार लेकसाईट एरियामा रातिको समयमा विभिन्न महिलाहरूले पर्यटकहरूलाई विभिन्न बहानामा दुःख दिई लुटपाट गर्ने र अनैतिक क्रियाकलाप बढ्दै गएको गुनासो आएपछि प्रहरीले विशेष अभियान सञ्चालन गरेको थियो।

    उक्त अभियानका पक्राउ परेका १६ जना महिलाहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान सहित आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक गणेश पाण्डेले पर्यटकहरूको सुरक्षा र लेक्साइड क्षेत्रलाई व्यवस्थित बनाउने उद्देश्यले यो अभियान सञ्चालन गरिएको बताउँदै यस्ता गतिविधि गर्नेहरूलाई कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

    यो पक्राउले पर्यटकीय नगरी पोखराको छवि सुधार्न र पर्यटकहरूको सुरक्षित बसाइ सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

  • ६ बैशाख २०८३, आईतवार १७:२३ प्रकाशित