पोखरा, ११ वैशाख । कास्की प्रहरीले चलाएको स्वीप अपरेसनमा विहीबार राती फेरी ६१ जना पक्राउ परेका छन् । जिल्लामा शान्ति सुरक्षा कायम गर्न र अवाञ्छित गतिविधि नियन्त्रण गर्न कास्की प्रहरीले चलाएको अपरेसनका क्रममा दोस्रोपटक यत्तिधेरै संख्यामा पक्राउ परेका हुन् ।
कास्की प्रहरीले आफ्ना मातहतका विभिन्न युनिटहरूसँग समन्वय गरी चलाएको अपरेसनमा पोखराका विभिन्न वडाबाट उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी निरिक्षक एवम् सूचना अधिकारी गणेश पाण्डेले जानकारी दिए ।
पोखराको लेकसाड क्षेत्रबाट २४ जना, बगाले टोल, मोहरियाटोल, गैहपाटनबाट १४ जना, सभागृहचोक, शिवालय चोक, पृथ्वीचो क्षेत्रबाट ८ जना, काँहुडाँडा, रामबजार क्षेत्रबाट २ जना, सराङकोट, लामागाँउ, भलाम क्षेत्रबाट ४ जना, सुन्दरबजार, रिठेपानी, सैनिक बस्ती, खुदिखोलाबाट ९ जनालाइ पक्राउ परेको प्रहरी निरिक्षक पाण्डेले जानकारी दिए ।
पक्राउ परेकामध्ये अधिकांश लागुऔषध गाँजा सेवन गरेको भेटिएको छ । यसबाहेक सार्वजनिक स्थलमा होहल्ला गर्ने, सर्वसाधारणलाई बाधा पुर्याउने, शान्ति खलल पार्ने र जथाभाबी मोटरसाइकल चलाएर ध्वनि प्रदूषण गर्नेहरूलाई पनि प्रहरीले नियन्त्रणमा लिएको पाण्डेले बताए ।
स्वीप अपरेसन गुण्डागर्दी, लागुऔषध कारोबार र प्रयोग, शंकास्पद गतिविधि तथा मादक पदार्थ सेवन गरेर अशान्ति मच्चाउने विरुद्ध अभियान रहेको कास्की प्रहरी प्रमुख एसपी नवीन कार्कीले बताए ।






