पोखरा, ११ वैशाख । कास्की प्रहरीले पोखरा महानगरपालिका वडा नं ८ सिमलचौर क्षेत्र आसपासका विभिन्न स्थानमा हतियार देखाएर डरत्रास फैलाएको भन्दै दुई जना युवालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँ व्यास नगरपालिका घर भई पोखरा –८ सिमलचौर बस्ने ३२ बर्षीय सुभाष कायस्थ र सोहि ठाउँ बस्ने ३१ बर्षीय सुरज कायस्थ रहेको प्रहरीले जनाएको छ । उनीहरुको सिमलचौर स्थित कोठा खानतलासी गर्दा फलामको रडको स्लाईड स्टिक १ थान, नक्कली पेस्तोल १ थान, पेस्तोल कभर १ थान र नोक २ थान फेलापरेको प्रहरीले जानकारी दिएको छ ।
यसैगरी प्रहरीले पोखरा महानगरपालिका ११ फूलबारीमा लागु औषध र नगदसहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा –११ भानुमार्गमा डेरा गरि बस्ने २७ बर्षीय मन्दिरा मगर रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका ती महिलाको साथबाट खैरो हेरोईन “ब्राउन सुगर” जस्तो देखिने पदार्थ १०.३७ ग्रामका साथै डिजिटल तराजु १ थान, मोबाइल १ थान र नगद ९ लाख रुपैया बरामद गरिएको कास्की प्रहरीले जनाएको छ ।
लागु औषधको बिक्री बितरण भईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको प्रहरी निरिक्षक गणेश पाण्डेले जानकारी दिए ।






