कांग्रेसको दलको नेतामा भीष्मराज आङदेम्बे निर्विरोध निर्वाचित

नेपालको इतिहासमा पहिलो पटक आदिवासी जनजातिबाट कांग्रेसको संसदीय दलको नेता चयन

  • जरूवाखबर

  • पोखरा, १४ वैशाख । नेपाली कांग्रेसले आफ्नो प्रतिनिधिसभा संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बेलाई सर्वसम्मत रूपमा निर्वाचित गरेको छ । निर्वाचन सकिएको डेढ महिनापछि काँग्रेसले आज बिहान बसेको कांग्रेस संसदीय दलको बैठकमार्फत आङ्देम्बेलाई निर्विरोध दलको नेता चयन गरेको हो ।

    यसअघि दलको नेता चयन प्रक्रिया केही दिन स्थगित भएको थियो । दलको नेतामा आङदेम्बेसंगै अर्जुननरसिंह केसी र मोहन आचार्य आकांक्षी बनेका थिए। सहमति नभएपछि पछिल्लो समय केन्द्रीय कार्य सम्पादन समितिले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा उपसभापति पुष्पा भुसाल, महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरे तथा निर्वाचन समितिका तीन जना सदस्य रहने गरी सहमति खोज्ने समिति बनाइएको थियो। सोही समितिले नै सर्वसहमतिमा संसदीय दल नेता चयनको वातावरण तय गरेको थियो । समितिले आकांक्षीहरुसंग एक्लाएक्लै छलफल गरेको थियो ।

    शर्मा नेतृत्वको समितिले दलको नेतामा आङदेम्बेको नाम दिएपछि सभापति गगन थापाले सोमबारको कार्यसम्पादन समिति बैठकमा सो नाम प्रस्ताव गरेका थिए । यस अघि अर्जुननरसिंह केसी र मोहन आचार्यको पक्षमा देखिएका थापा पछिल्लो समयमा पार्टी हित र एकताकालागि भन्दै लचिलो बनेको नेताहरुको भनाई छ ।

    पार्टी एकताकालागि नै थापाले आङदेम्बेको नाम अघि सारिएको नेताहरु बताउँछन् । आङदेम्बेलाई दलको नेता बनाउँदा निवर्तमान सभापति शेरबहादुर देउवा, नेता डा. शेखर कोइराला र पूर्णबहादुर खड्का लगायत पक्षलाई पनि समेटिने विश्वासका साथ उनलाई सर्वसम्मत चयन गर्ने गरी अघि सारिएको नेताहरुको भनाई छ ।

    अब आङदेम्वेले संसदीय दलको नेताको रूपमा विपक्षी दलको हैसियतले सरकारलाई खबरदारी गर्ने तथा पार्टीको संसदीय गतिविधि सञ्चालन गर्ने जिम्मेवारी पाएका छन् । यो चयनले कांग्रेसभित्रको आन्तरिक एकतालाई थप मजबुत बनाउने र आगामी संसदीय अभ्यासमा सक्रिय भूमिका खेल्ने विश्वास लिइएको छ।

    भीष्मराज आङ्देम्बे को हुन् ?

    भीष्मराज आङ्देम्बे नेपाली कांग्रेसका अनुभवी नेता हुन् । नेपालको इतिहासमा पहिलो पटक आदिवासी जनजातिबाट कांग्रेसको संसदीय दलको नेता बनेका हुन् ।

    पृष्ठभूमि – उनी २०३६ सालको जनमत संग्रहमा बहुदलीय प्रजातन्त्रको पक्षमा सक्रिय थिए ।

    पार्टी भूमिका –  नेपाली कांग्रेसको १२ औँ र १३ औँ महाधिवेशनबाट केन्द्रीय कार्यसमिति सदस्य निर्वाचित भए । २०७८ मा आदिवासी जनजाति क्लस्टरबाट सहमहामन्त्रीमा निर्वाचित भए । उनी केन्द्रीय अनुशासन समितिको संयोजक पनि भइसकेकाछन् ।

    संसदीय अनुभव – उनी २०७० मा संविधानसभा सदस्य ‘पाँचथर–२ बाट’ निर्वाचित भएका थिए । हाल समानुपातिक तर्फबाट प्रतिनिधिसभा सदस्य छन् ।

    विशेषता – उनी अनुभव, संगठनात्मक क्षमता र पार्टी एकताका लागि परिचित छन् । उनले संसदमा कांग्रेसको तर्फबाट पहिलो बैठकमा सम्बोधन गरेका थिए ।

    यसैगरी  दलको नेता चयनसँगै कांग्रेसको प्रमुख सचेतक र सचेतकको जिम्मेवारी पनि टुंगिएको छ । प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निस्कल राई चयन भएका छन् ।

     

  • १४ बैशाख २०८३, सोमबार २१:०६ प्रकाशित