सञ्चारीका गण्डकी प्रदेश कार्यसमितिको पदस्थापन, महिला पत्रकारको पेशागत सुरक्षा र नेतृत्व विकास गर्ने प्रतिबद्धता
  • जरूवाखबर

  • पोखरा, १५ वैशाख । राधिका कँडेलको अध्यक्षतामा गठित सञ्चारिका समूह नेपाल, गण्डकी प्रदेशको नयाँ कार्यसमितिको पदस्थापना कार्यक्रम सम्पन्न भएको छ । गत चैत ३० गते सम्पन्न अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई औपचारिक रूपमा पदस्थापन गरिएको हो ।

    समितिको उपाध्यक्षमा कञ्चन थापा कोइराला र महासचिवमा उमा आले मगर, सचिवमा अनिता घिमिरे र कोषाध्यक्षमा बालकुमारी पौडेल ‘तारा’ तथा सदस्यहरुमा शोभा नेपाल, सपना अधिकारी, रोजी श्रेष्ठ, रिना थापा, देविका तामाङ र बिना थापा मगर रहेका छन् ।

    कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य तारा चापागाईंले नयाँ नेतृत्वले नयाँ सोच, जोश र जाँगरका साथ महिला सञ्चारकर्मीहरूको हकहितका लागि प्रभावकारी काम गर्ने विश्वास व्यक्त गरिन् ।

    निर्वाचन समितिका संयोजक हुम गुरुङले समान हैसियत, अवसर र अधिकारका लागि महिलाहरू संगठित हुनु आवश्यक रहेको बताउँदै एकताबद्ध भएर अघि बढे मात्र उदाहरणीय र उपलब्धिमूलक कार्य गर्न सकिने विचार व्यक्त गरे ।

    निर्वाचन समितिका सदस्य अधिवक्ता भुवन पराजुलीले संस्थागत सुशासन र जिम्मेवार नेतृत्वको आवश्यकता औंल्याइन् ।

    ‎नवनिर्वाचित नेतृत्वले महिला सञ्चारकर्मीहरूको क्षमता अभिवृद्धि, पेशागत सुरक्षा, समान अवसर र नेतृत्व विकासका साथै सञ्चार क्षेत्रमा लैङ्गिक समानता प्रवर्द्धन गर्दै समावेशी र सशक्त समाज निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राखेको छ ।

  • १५ बैशाख २०८३, मंगलवार १२:१३ प्रकाशित