काठमाडौँ । नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्। उनले नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिलाई सम्बोधन गर्दै लेखेको पत्रमार्फत राजीनामाको घोषणा गरेका हुन् ।
पत्रमा गुरुङले २०७९ फागुन १ गते आफूलाई दिइएको जिम्मेवारीप्रति आभार व्यक्त गर्दै कार्यकालभर पार्टी र संगठनप्रति इमानदार भएर काम गरेको उल्लेख गरेका छन्। उनले तरुण दललाई चलायमान र सशक्त बनाउन केन्द्रीय समितिदेखि जिल्ला तथा स्थानीय तहसम्म समन्वय र सक्रियता बढाउने प्रयास गरेको पनि बताएका छन्।
उनका अनुसार, पाँचौं महाधिवेशन तोकिएको समयमै सम्पन्न गर्नुपर्ने आवश्यक भए पनि विभिन्न राजनीतिक परिस्थितिका कारण त्यो सम्भव हुन नसकेको बताएका छन् । वर्तमान अवस्थामा संगठनलाई थप गतिशील बनाउन नयाँ नेतृत्व आवश्यक भएको निष्कर्षसहित उनले पदबाट बाहिरिने निर्णय लिएको जनाएका छन्।
गुरुङले तरुण दललाई पार्टीको मूल विचार, संगठन र अनुशासनप्रति प्रतिबद्ध बनाउँदै अघि बढाउनुपर्नेमा जोड दिएका छन् । साथै, उनले संगठनभित्र एकता, विश्वास र स्पष्ट कार्यदिशाको खाँचो औंल्याउँदै आगामी दिनमा नयाँ नेतृत्वले त्यो भूमिका पूरा गर्ने विश्वास व्यक्त गरेका छन्।






