रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना, २० जनाको मृत्यू, एक घाईते

अप्ठ्यारो सडक र वर्षाले उद्धारमा समस्या

  • जरूवाखबर

  • रोल्पा, १७ वैशाख । रोल्पाको थबाङ गाउँपालिका–१, जलजलामा बिहीबार भएको जीप दुर्घटनामा परी २० जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

    घाइते हुनेमा पूर्वी रुकुमको सिस्ने गाउँपालिका–५ का ३२ वर्षीय समिर रहेका छन् । उनको आधारभूत जलजला अस्पताल, थवाङमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतकहरूको पहिचान भने अझै खुल्न सकेको छैन ।

    जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार रुकुमपूर्वबाट जलजलातर्फ जाँदै गरेको जिप थवाङ गाउँपालिका–१ सल्याप क्षेत्रमा सडकबाट करिब ८ सय मिटर तल खसेको हो । अत्यन्तै भिरालो क्षेत्रमा जिप खसेकाले अधिकांश यात्रुको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

    जिपमा रोल्पाको धार्मिक तथा पर्यटकीय क्षेत्र जलजलामा वैशाख पूर्णिमाको अवसरमा पूजा गर्न जाँदै गरेका तीर्थयात्री सवार थिए । स्थानीयका अनुसार जलजला क्षेत्र मगर समुदायसहित हिन्दू धर्मावलम्बीका लागि आस्थाको महत्वपूर्ण केन्द्र मानिन्छ । यहाँ प्रत्येक वर्ष वैशाख पूर्णिमाको अवसरमा बराह मन्दिरमा पूजा गर्न ठूलो संख्यामा तीर्थयात्री आउने गर्छन् ।

  • १७ बैशाख २०८३, बिहीबार २०:४७ प्रकाशित