घर भत्काएको हेर्न नसकेर एक जनाले ज्यान फाले, एकजना बेहोस
  • जरूवाखबर

  • काठमाडौँ, १८ वैशाख । सरकारले केही दिनयता सुकुम्बासी समस्या समाधानका नाममा बलपूर्वक डोजर प्रयोग गरी बस्तीहरु धमाधम भत्काउन थालेपछि आफ्नो घर भत्काएको हेर्न नसकी शुक्रबार एकजनाले ज्यान गुमाएका छन् भने एकजना बेहोस भएकी छिन् ।

    बल्खु क्षेत्रको सुकुमबासी बस्तीमा बसोबास गर्दै आईरहेका ईन्द्रबहादुर राईले घरमा डोजर लगाएपछि सहन नसकि ज्यान फालेका हुन् भने थापाथलीस्थित बागमती नदी किनारको सुकुमबासी बस्ती हटाउने क्रममा रेखा कुँवर बेहोस भएकी हुन् ।

    शुक्रबार दिउँसो बल्खुस्थित बागमती नदीमा ६१ वर्षका ईन्द्रबहादुर राई मृत फेला परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले जानकारी दिए । उनी जागरण टोल निवासी भएको बताईएको छ ।

    स्थानीयका अनुसार उनी आफ्नो घरमा डोजर चलाएपछि विरक्तिएका थिए । उनी मृतक लामो समयदेखि बल्खुको फलफूल मण्डीमा काम गर्दै आएका थिए । मृतककी श्रीमतीले पनि घरमा डोजर चलाएपछि उनी निराश भएर हिँडेको बताइन् ।

    यसैबीच थापाथलीस्थित बागमती नदी किनारको सुकुमबासी बस्ती हटाउने क्रममा एक महिला बेहोस भएकी छिन् । बेहोस भएकी महिलाको प्रहरीले उद्धार गरेको छ । शुक्रबार सरकारले सुकुमबासी बस्ती हटाउने क्रममा उक्त दृश्य हेर्न नसकेर रेखा कुँवर बेहास भएकी थिइन्। बेहोस भएकी उनलाई प्रहरीले वीर अस्पताल लगेको छ।

    काठमाडौंका खोला किनारका अव्यवस्थित बस्ती हटाउने क्रममा सरकारले शुक्रबार बिहानै बल्खु र टेकु नजिक पर्ने वंशीघाट, शंखमूललगायत क्षेत्रमा डोजर चलाएको हो । बाक्लो सुरक्षा घेराबीच डोजर चलाएर बस्तीहरू भत्काउन थालिएको हो । घटनास्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नगर प्रहरी लगायत खटिएका छन् ।

  • १८ बैशाख २०८३, शुक्रबार १८:१८ प्रकाशित