पोखरा, २१ वैशाख । जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नै बाबुको हत्या गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ। रुपा गाउँपालिका वडा नं. ४ बागेडाँडा बस्ने ६२ वर्षीय रामबहादुर घर्तीको हत्यामा संलग्न रहेको आरोपमा उनकै कान्छो छोरा ३४ वर्षीय भिम बहादुर भुजेललाई पक्राउ गरिएको डीएसपी हरिबहादुर बस्नेतले जानकारी दिए ।
डीएसपी बस्नेतका अनुसार वैशाख १७ गते साँझ करिब ६ः४५ बजेको समयमा रामबहादुर घर्ती आफ्नै घरमा अचेत अवस्थामा फेला परेका थिए। उनको घाँटीमा गलबन्दी बेरिएको र नाकबाट रगत बगिरहेको अवस्थामा भेटिएपछि स्थानीय र प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। प्रहरीले उनलाई तत्कालै पोष्टमार्टमका लागि क्षेत्रीय अस्पताल पोखरा पठाएको थियो।
घटनास्थलको प्रकृति र अनुसन्धानका क्रममा मृतकको घाँटीमा गलबन्दीको फन्का बेरिएको, नाकबाट तरल पदार्थ बगिरहेको र कोठाको ढोका खुल्लै रहेको पाइएपछि प्रहरीले यसलाई कर्तव्य ज्यानको घटनाका रूपमा अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा घटनामा संलग्न रहेको आरोपमा कान्छा छोरा भिमबहादुर भुजेललाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार प्रारम्भिक बयानका क्रममा कान्छा छोरा भीमबहादुरले सपनामा ‘कि बाऊले छोरालाई मार्न पर्यो, कि छोराले बाऊलाई मार्न पर्यो भनेर देखेपछि मैले नैं बाऊलाई मारेको हुँ भनेर बयान दिएका छन् ।
पक्राउ परेका भुजेललाई मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद १२ अन्तर्गत ज्यान सम्बन्धी कसुर ‘दफा १७७’ मा मुद्दा दर्ता गरिएको छ। अदालतबाट १० दिनको म्याद थप गरी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
यस घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।






