पोखरा, २६ वैशाख । आफ्नै श्रीमानको सहीछाप किर्ते गरी बैंकबाट ॠण निकालेका एक महिलालाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं ३० ढुंगेपाटन निवासी वन्ती शाहीलाई आफ्नै श्रीमानको सहीछाप किर्ते गरी बैंकबाट ॠण निकालेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । जाहेरीका आधारमा उनीसंगै किर्ते गर्न सघाउ पुर्याउने भद्रबहादुर थापा मगरलाई पनि पक्राउ गरिएको छ ।
ती महिलाले आफ्ना श्रीमान ५२ वर्षिय मोहनबहादुर शाहीको नाममा दर्ता रहेको कित्ता नं २४४४ र २४४७ को जग्गा सुर्खेत चौकुने गाउँपालिका वडा नं ४ घर भई हाल पोखरा १० बुद्धचोक बस्ने ४४ वर्षिय भद्रबहादुर थापा मगरको सहयोगमा किर्तेछाप गरी सिद्धार्थ बैंकको तालचोक शाखाबाट ५० लाख रुपैयाँ ॠण निकालेका थिए ।
किर्ते सहीछाप गरी ॠण निकालेका शाही र थापा मगर दुवैजनालाई जाहेरीका आधारमा कास्की प्रहरीले २५ गते पक्राउ गरेको हो ।
पक्राउ गरी उनीहरुलाई कास्की जिल्लाबाट ठगी, आपराधिक, विश्वासघात तथा आपराधिक लाभ ‘एक्सटर्सन’ सम्बन्धी कसूरमा पाँच दिन म्याद थप गरी अनुसन्धान प्रकृया अगाडि बढाईएको प्रहरी नायव उपरीक्षक हरीबहादुर बस्नेतले जानकारी दिए ।






