पोखरामा जेठ ८ गतेसम्म आफ्नै विद्यालयबाट उत्तीर्ण विद्यार्थी मात्र भर्ना गर्न पाईने

निर्देशन उल्लंघन गर्ने विद्यालयमाथि आवश्यक कारबाही हुने

  • जरूवाखबर

  • पोखरा । पोखरा महानगरपालिकाभित्रका विद्यालयहरुले जेठ ११ गतेसम्म बाहिरका विद्यार्थीको भर्ना लिन नपाउने भएका छन् । महानगरले मंगलबार शैक्षिक सत्र २०८३ का लागि कक्षा ११ को भर्ना प्रक्रिया सम्बन्धी एक सूचना जारी गर्दै विद्यालयहरूले सुरुमा आफ्नै विद्यालयबाट एसइई उत्तीर्ण गरेका विद्यार्थीलाई मात्र भर्ना गर्नुपर्ने जनाएको छ ।

    वैशाख ३० गतेदेखि जेठ ८ गतेसम्म विद्यालयहरूले आफ्नै संस्थाबाट माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरेका विद्यार्थीलाई मात्र भर्ना गर्न पाउने सूचनामा उल्लेख छ । यो अवधिमा बाहिरका विद्यार्थीलाई भर्ना लिन पाइने छैन । आफ्ना विद्यार्थीलाई भर्ना गरिसकेपछि बाँकी रहेको कोटामा मात्र खुला भर्ना प्रक्रिया अगाडि बढाउन भनिएको छ ।

    यसैबीच खुला भर्ना भने जेठ ११ गतेपछि मात्र सुरु गर्न पाइने सूचनामा उल्लेख छ । निजी विद्यालयहरूले विद्यार्थी भर्ना गर्दा महानगरले प्रदान गर्ने छात्रवृत्ति कोटा अनिवार्य रूपमा दिनुपर्ने र छात्रवृत्तिका लागि छुट्याइएका सिटहरूमा कुनै असर नपर्ने गरी मात्र अन्य विद्यार्थी भर्ना गर्न निर्देशन दिइएको छ ।  भर्ना प्रक्रियालाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउन यस्तो व्यवस्था गरिएको शिक्षा महाशाखाका निर्देशक हेमप्रसाद आचार्यले बताए ।

    शुल्कमा पारदर्शिता गर्न सबै विद्यालयले २०८३ सालको कक्षा ११ को शुल्क विवरण आफ्नो सूचना पाटीमा अनिवार्य रूपमा टाँस्नुपर्ने उल्लेख गरिएको छ । शुल्कमा पारदर्शिता कायम गर्न र अभिभावकलाई जानकारी दिन महानगरले यस्तो कडाइ गरेको हो । निर्देशन उल्लंघन गर्ने विद्यालयमाथि आवश्यक कारबाही हुने महानगरले जनाएको छ ।

  • २९ बैशाख २०८३, मंगलवार २०:०४ प्रकाशित