पोखरा, ३० वैशाख। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको पोखरामा सम्पन्न सातौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा पुण्यप्रसाद सिटौला ‘सरोज’ अध्यक्ष पदमा विजयी भएका छन् । निकटतम प्रतिस्पर्धी हरिशरण केसीलाई भारी मतले पछि पार्दै सिटौला विजयी बनेका हुन् ।
जम्मा खसेको १ हजार ५ सय ६० मतमध्ये सिटौलाले १ हजार ३० मत प्राप्त गरे भने केसीले ४ सय ६४ मत मात्र पाए । अध्यक्षमा विजयी सिटौलालाई नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र निकटका व्यवसायीहरूको समर्थन रहेको थियो । केसीले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् ।
महासंघको तीन जना वरिष्ठ उपाध्यक्षमा सानुकाजी प्रजापति, ऐन कुमार साई र केदार प्रसाद पौडेल विजयी भएका छन् ।
यो पदमा ६ जनाबिच प्रतिस्पर्धा भएको थियो । त्यसैगरी, महासचिवमा डेकनाथ गौतम विजयी भएका छन् । ३ जनाको प्रतिस्पर्धा रहेको महासचिवमा गौतमले ६ सय ९८ मत प्राप्त गरी विजयी बनेका हुन् । कोषाध्यक्ष पदमा राजेन्द्र आचार्य ७ सय १६ मतका साथ विजयी भएका छन् ।
महासंघको ८६ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये ८४ पदका लागि मतदान भएको हो । नयाँ नेतृत्व चयन गर्न देशभरका ३ सय ८७ संस्थाका १ हजार ६ सय ६३ प्रतिनिधि पोखरामा जम्मा भएका थिए ।
नवनिर्वाचित अध्यक्ष सिटौलाले यातायात क्षेत्रलाई प्रविधिमैत्री बनाउने प्रतिवद्धता व्यक्त गर्दै अनलाइन टिकेटिङ, जीपीएस सिस्टम जडान र क्यासलेस प्रणालीलाई प्राथमिकता दिने बताए ।






