पोखरा, ३१ वैशाख। मध्यपूर्वमा जारी युद्धका कारण इन्धन र निर्माण सामग्रीमा पटक–पटक भइरहेको अत्यधिक एवं अप्रत्याशित मूल्यवृद्धिको समस्या सम्बोधन गर्न सरकार गम्भीर नबनेपछि नेपाल निर्माण व्यवसायी महासंघ चरणबद्ध आन्दोलनमा उत्रिएको छ।
मूल्यवृद्धिका कारण निर्माण कार्य सञ्चालन गर्न कठिनाइ भएको र आगामी दिनमा निर्माण कार्य नै बन्द हुने अवस्था सिर्जना हुन सक्ने भन्दै महासंघले बिहीबार महासंघमा आबद्ध ७७ वटै जिल्ला निर्माण व्यवसायी संघले प्रमुख जिल्ला अधिकारीसमक्ष जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै आधा घण्टा धर्ना दिएका छन् ।
यसैक्रममा नेपाल निर्माण व्यवसायी संघ कास्कीले जिल्ला प्रशासन कार्यालय कास्कीमा ज्ञापनपत्र बुझाउनुका साथै धर्ना दिएको छ ।

ज्ञापनपत्र बुझ्दै कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले व्यवसायीहरुको समस्याबारे आफूहरु पनि जानकार रहेको बताउँदै औपचारीक रुपमा आएको मागलाई सम्बन्धित निकायसम्म पुर्याउने बताउँदै अहिलेको कठिन परिस्थितिमा चुनौतीको सामना गर्दै निर्माणकार्यलाई निरन्तरता दिन पनि निर्माण व्यवसायीहरुलाई आग्रह गरिन् ।
संघका कास्की अध्यक्ष लिलकाजी गुरुङले पटक पटक सरकारसमक्ष मूल्य समायोजन लगायत ठेक्काहरुको म्याद थपकालागि माग राख्दा पनि चासो नदिएपछि केन्द्रिय निर्देशन अनुसार जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएको बताए । उनले सरकारले आफूहरुको माग सुनुवाई नगरे केन्द्रिय महासंघको नेतृत्वमा आन्दोलन गर्ने चेतावनी समेत दिए ।
यसैबीच जिल्ला संघहरूले शुक्रबार र आगामी सोमबार जिल्लास्थित पूर्वाधार विकास कार्यालय, डिभिजन सडक कार्यालय, शहरी विकास तथा भवन कार्यालय तथा सिँचाइ कार्यालयहरूमा पनि ज्ञापनपत्र बुझाएर धर्ना दिने कार्यक्रम तय गरेका छन्।






