पोखरा, १ जेठ। पोखराको मित्रमिलन बचत तथा ऋण सहकारीबाट ऋण लिएर नतिर्नेहरू २७ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सहकारीको पुरक अनुसन्धानका क्रममा लामो समयसम्म ऋण चुक्ता नगर्ने र प्रहरीले बारम्बार ताकेता गर्दा पनि अटेर गर्नेहरु सबै विरुद्ध पक्राउ पुर्जी जारी गरिएको हो ।
पक्राउ पुर्जी जारी हुनेमा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बोधराज रेग्मीदेखि विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू पनि छन् । सबैजना अहिले फरार रहेकाले खोजी तीव्र पारिएको प्रहरीले जनाएकोछ । फरार रहेका रेग्मी रास्वपाबाट अघिल्लो प्रतिनिधि सभा सदस्य निर्वाचनमा स्याङ्जा १ बाट उम्मेदवार थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीले लामो समय अनुसन्धान गरेर प्रतिवेदन सरकारी वकिलको कार्यालयमा पेस गरेको हो । वैशाख २८ गते प्रतिवेदन पेस भएपछि प्रतिवादीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको कास्की प्रहरीका सूचना अधिकारी डीएसपी हरीबहादुर बस्नेतले जानकारी दिए ।
नियमनकारी निकाय सहकारी रजिष्ट्रारको कार्यालयले गरेको गहन छानबिन र ७१६ जना बचतकर्ताले दिएको संयुक्त जाहेरी र पुरक अनुसन्धान प्रतिवेदनका अनुसार कुल २९ करोड ४६ लाख रुपैयाँ सञ्चालक र ऋणी लगायतले ठगी गरेको पुष्टि भएको छ । कास्की प्रहरीले सहकारीका सञ्चालकदेखि ऋणीहरुसहित संलग्न सबैको विगोदावीसहित मुद्दा सरकारी वकिलको कार्यालयमा बुझाई सकेको छ ।
सहकारी रजिष्ट्रारको कार्यालयले गरेको छानबिन तथा बचतकर्ताको जाहेरीका आधारमा सबैको बिगो छुट्याएर प्रतिवादी कायम गरिएको बस्नेतले बताए । ‘हरेक व्यक्तिको बिगो कायम गरिएको छ ।
प्रहरीले वित्तीय विश्लेषण पश्चात् पक्राउ पूर्जी जारी गरेका नयाँ प्रतिवादीहरूमा कास्की मादी- २ स्थायी घर भई हाल पोखरा- १३ बस्ने ३८ वर्षीया रोश माया गुरुङ, पोखरा- ५ प्रस्याङ बस्ने ४१ वर्षीया प्रतिमा पौडेल लम्सालु, तनहुँ फरकचौर- ४ का ४२ वर्षीय अमृत परियार र स्याङ्जा फेदीखोला- ४ स्थायी घर भई हाल पोखरा- १ बस्ने ६० वर्षीय कर्ण बहादुर रानाभाट, पोखरा- १३ की ४६ वर्षीया निकिता के. सी., रुपन्देही घर भई हाल पोखरा- ७ बस्ने ३२ वर्षीय करण चौधरी, पोखरा- ६ बैदामकी ४२ वर्षीया सिता कार्की, बागलुङ तमानखोला- १ का ३५ वर्षीय रेम बहादुर बि. क., पोखरा- १३ की ४८ वर्षीया तारा घर्ती र सोही स्थानकी ४८ वर्षीया लिला देवी गुरुङविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिएको छ ।
यसैगरी प्रहरीको सूचीमा पर्वत घर भई पोखरा–८ बस्ने ३४ वर्षीया सृजना देवी रिजाल कार्की, स्याङ्जा घर भई पोखरा- १७ बस्ने ३५ वर्षीय राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बोधराज रेग्मी, गोरखा घर भई पोखरा-११ बस्ने ४५ वर्षीया आशा आले, पोखरा-३३ का ४० वर्षीय रुम बहादुर मल्ल, पोखरा- ५ का ४७ वर्षीय निपेन्द्र कुमार श्रेष्ठ र पोखरा- २ का ५९ वर्षीय बसन्त देव नापित, स्याङ्जा घर भई पोखरा- १३ बस्ने ५२ वर्षीया नरमता गुरुङ, स्याङ्जा घर भई हाल पोखरा- १७ बस्ने ४८ वर्षीय चन्द्र बहादुर बि. क. , तनहुँ घर भई पोखरा- १ बस्ने ५४ वर्षीय सुरोज कुमार श्रेष्ठ, पोखरा- १७ का ३० वर्षीय विनय गुरुङ, स्याङ्जा घर भई पोखरा- १५ बस्ने ५९ वर्षीया शान्ती कुमारी के. सी., तनहुँका ३४ वर्षीय अर्जुन राना, कास्की मादी- ७ का ५४ वर्षीय शिवदत्त जैसी तिवारी, पोखरा- १३ का ५२ वर्षीय शिवराज बराल, पोखरा- २१ का ८८ वर्षीय वृद्ध हुमनाथ अधिकारी, पोखरा- ८ की सौजना अधिकारी र पोखरा- १३ का मीन प्रसाद गुरुङ रहेका छन् ।
जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले ३३ जनाविरुद्ध मुद्दा दायर गरिसकेको छ । जसमा सहकारी रजिष्ट्रार कार्यालय पोखराका पूर्व रजिष्ट्रार उदयबहादुर पराजुली, राष्ट्रिय सहकारी बैंक पोखराका तत्कालीन प्रबन्धक सन्तोष घिमिरे, पोखरा २१ का वडाध्यक्ष दिपकप्रसाद सुवेदी, अधिवक्ता जनकल्याण पराजुली, सहकारीका अध्यक्ष रमण पौडेल लगायतविरुद्ध अनुसन्धान भइरहेको छ ।
सहकारीका अध्यक्ष रमण पौडेलसहित पदाधिकारीहरूले बचतकर्ताको रकम मन्जुरीबिनै गायब पारेर रियलस्टेट एजेन्टसँगको मिलेमतोमा ठगी गरेको जाहेरीमा उल्लेख छ । केही फरार छन् भने केही अहिले पनि पुर्पक्षका लागि कारागारमा छन् ।






