तमु धिं नेपाल: ४२ औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाईदै
  • जरूवाखबर

  • पोखरा, २ जेठ । तमु धिं नेपालले आफ्नो ४२ औं स्थापना दिवस विविध कार्यक्रमका साथ मनाउने भएको छ। स्थापना दिवसको अवसरमा रक्तदान, सहयोग हस्तान्तरण, सम्मान लगायतका कार्यक्रम गरी मनाउने भएको हो ।

    यसैक्रममा जेठ ३ गते तमु धिं नेपाल केन्द्रिय युवा समितिको आयोजनामा बिहान महेन्द्रपुलमा रक्तदान कार्यक्रम, दिउँसो तमु धिं नेपालमा मेजर जयबहादुर-उदय चन्द्र-मेजरनी रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोषबाट विभिन्न १६ जना विरामीहरुलाई उपचार सहयोग हस्तान्तरण गर्ने र जेठ ५ गते विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको तमु धिं नेपालले जनाएको छ।

    सम्मान कार्यक्रम अन्तर्गत यो वर्ष तमु धिं नेपालका तत्कालिन प्रमुख सल्लाहकार स्वर्गीय गणेशबहादुर गुरुङको स्मृतिमा स्थापित अक्षयकोषबाट शैक्षिक क्षेत्रमा विशेष योगदान बापत लिटिलस्टेप मावि एवम लिंकन कलेजका संस्थापक, तमु धिं नेपालका संस्थापक सचिव शेरबहादुर गुरुङलाई १ लाख ११ हजार १११ रुपैयासहित सम्मान, विशिष्ट समाजसेवीहरु क्या. कमल गुरुङ, खिलाङ गुरुङ समाजका अध्यक्ष होमबहादुर गुरुङ, तमु धिं नेपाल कास्की जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ लगायतलाई सम्मान गरिने भएको छ।

    यसरी नै उक्त कार्यक्रममा एनएमबी बैंकको सहकार्यमा सामुदायिक विद्यालयमा अध्ययनरत ४० जना तमु विद्यार्थीहरुलाई पोशाक, शैक्षिक सामग्री, शैक्षिक शुल्कसहितको सहयोग हस्तान्तरण कार्यक्रम रहेको तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङले जानकारी दिए ।

  • २ जेष्ठ २०८३, शनिबार ०७:३० प्रकाशित