पर्यटकीय शहर पोखरामा केही दिनयता दिनहुँ जसो परिरहेको मुसलधारे वर्षा र त्यसबाट उत्पन्न भएको भलपानीले स्थानीयबासिन्दा, पैदलयात्रीलगायत सडकमा सवारी चलाउनेको जीवन कष्टकर बन्दै गएको छ । पानीपर्न थालेपछि भलपानी ढल वा खोलामा हैन सडकमा भेल बनेर बग्न थालेपछि पोखराबासीमा पीडा बढेको छ । कतिबेला सडकमै बग्ने बाढीले बगाएर घाईते हुने वा मृत्यूवरण गर्नु पर्ने हो सबैको चिन्ताको विषय बनेको छ । यो समस्या वर्षा ऋतुमा मात्र होइन, सामान्य वर्षामा पनि दोहोरिरहनु चिन्ताको विषय बनेको छ । साना र थोरै वर्षामा पनि मुख्य सडकहरू जलमग्न हुन्छन् । यसले गर्दा दैनिक आवतजावतमा ठूलो बाधा पुग्छ, दुर्घटना बढ्छन्, पैदलयात्रीहरू विशेष गरी महिला तथा बालबालिकाहरुले सास्ती बेहोर्नुपर्छ, व्यापारव्यवसाय प्रभावित बन्न पुग्छन् ।
यो समस्या केवल पैदलयात्री र सवारीसाधनको आवातजवातको असुविधाको मात्र होइन, यसले स्वास्थ्य संकट पनि निम्त्याउन सक्छ । जमेका पानीमा मच्छरहरू बढ्छन्, डेंगु र अन्य पानीजन्य रोगहरू फैलिन्छन् । ड्रेजन प्रणालीको दयनीय अवस्थाले मानवजीवन, मानवस्वास्थका साथै पर्यटनमा आधारित पोखराको अर्थतन्त्रलाई पनि गम्भीर रूपमा प्रभावित पुर्याउदछ । पर्यटक पनि भलपानीग्रस्त सडक, अवरुद्ध यातायात र फोहोर पानी देखेर निराश हुन्छन् ।
पोखरा महानगरपालिका र सम्बन्धित निकायहरुको ध्यान यसतर्फ किन गईरहेका छैनन् ? वर्षायाम सुरु हुनुभन्दा पहिले नै नाला सरसफाई, ड्रेनेज मर्मत र पानीको निकास सुधार्ने काम नियमित रुपमा हुनुपर्ने हो । अफसोच, हरेक वर्ष उही समस्या दोहोरिन्छ र उही गुनासाहरु आईरहन्छन् । जलवायू परिवर्तनका कारण केहीवर्ष यता बेमौसमी रुपमा असामान्य वर्षा बढिरहेको छ । तर हामीले पूर्वाधारलाई त्यहीअनुसार आधुनिक र बलियो बनाउन सकिरहेका छैनौ ।
सामान्य पानी पर्दा पनि पोखराको सडकमा पानी जम्नु र भेल बग्नुको मुख्य कारण अपर्याप्त ड्रेनेज प्रणाली, अव्यवस्थित सहरीकरण, ढल निकासीको दयनीय अवस्था र फोहोर व्यवस्थापनको कमी हो । सडक निर्माण गर्दा पानीको निकासको उचित प्रबन्ध गरिएन । दिनहुँ बढ्दो शहरीकरण, अव्यवस्थित बसोबासका साथै असभ्य तरिकाले घर वा व्यवसायिक केन्द्रहरुबाट निस्किने फोहोर जथाभावी रुपमा फालिने खराब प्रवृत्तिका कारण नाला र ढलहरू फोहोरले भरिएका छन्, जसले पानी बग्न दिँदैन । यदि पोखरालाई सफा र सुन्दर राख्नुका साथै आफ्ना नागरिकको जीउधनको सुरक्षा गर्ने हो भने पोखरा महानगरपालिकाले वर्षा सुरु हुनुभन्दा कम्तीमा एक महिना पहिले नै सबै मुख्य नाला, ढल र कल्भर्टहरूको पूर्णसफाई अभियान सञ्चालन तथा बिस्तार गर्नु पर्दछ । असभ्य प्रवृत्तिले जथाभावी फोहोर फाल्ने कार्यलाई कडा कानुनी कारबाहीसहित रोक्नु पर्दछ । समस्या भएका स्थानहरुमा अस्थायी पम्पिङ स्टेशन र म्यानहोलहरु व्यवस्था गर्नु आवश्यक छ ।
पोखराको सडकमा फोहोरसहितको भलपानीको दीर्घकालीन निकास खोज्नकालागि पोखराको समग्र मास्टर ड्रेनेज तथा जल निकासी योजना बनाउने र कार्यान्वयन गर्नु आवश्यक छ । पुरानो ड्रेनेज प्रणालीको विस्तार र आधुनिकीकरण गरी स्मार्ट ड्रेनेज निर्माण गर्नु, सडक निर्माण एवम् पूननिर्माण गर्दा पानीको निकासलाई पहिलो प्राथमिकता राख्ने नीति बनाउने जसले गर्दा ढलको ढलान, स्लोप, आकार पर्याप्त बनाउन बाध्यकारी हुन्छन् । अवैध निर्माण र प्लटिङलाई कडाइका साथ रोक्नु, ड्रोन प्रविधिको प्रयोग गरी जोखिमयुक्त क्षेत्र पहिचान गरी पूर्वसतर्कता अपनाउनुकासाथै पोखरा महानगर, प्रदेश सरकार, संघीय सरकारको सहकार्यमा बजेट छुट्ट्याएर स्थायी समाधान खोजिनु नितान्त आवश्यक छ ।
समस्या समाधानकालागि नागरिक सचेतना अभियान सञ्चालन गरिनु पर्ने आवश्यकता पनि छ । ‘सफा सुन्दर पोखरा मेरो जिम्मेवारी’ भन्ने सचेतनामुलक अभियान सञ्चालन गरी जथाभावी रुपमा नाली, ढल वा खुला स्थानमा फोहोर फाल्ने गलत कार्य बन्द गराउनु पर्दछ । यसतर्फ पोखरा महानगरपालिका र सम्बन्धित निकायहरूले अब ढिलासुस्ती गर्नु हुँदैन । हरेक वर्ष उही समस्या दोहोरिनु भनेको विकासको असफलता हो, नागरिक चेतनाको दरिद्रता हो र पोखरा महानगरपालिकाको लापरवाही पनि हो । यहाँको सौन्दर्य र सुविधालाई वर्षाको भलपानीले बगाउन दिनु हुँदैन । पानी नालामा, खोलामा वा ढलमा बग्नु पर्छ सडकमा होइन । सडकमा खोला र ढल बग्ने समस्या समाधान नभएसम्म पोखराको विकास केवल कागजी कुरा मात्र रहनेछ । सुन्दर पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दैमा पर्यटक ओईरिने र विकास हुने होईन, त्यसकालागि पोखरा साँच्चिकैको सफा र सुन्दर हुनु जरुरी छ । तत्काल ठोस कदम चालौं ।






