काठमाडौ, ७ जेठ। महिलामाथि हुने हिंसा बहुआयामिक र गहिरो सामाजिक समस्याका रूपमा रहेको औंल्याउदै सञ्चारिका समूहले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयलाई ध्यानाकर्षण पत्र बुझाएको छ । समूहले मन्त्री सिता बादीलाई भेटेर २१ बुँदे ध्यानाकर्षण पत्र बुझाएको हो ।
लैङ्गिक समानता प्रवर्द्धन तथा लैङ्गिक हिंसा अन्त्यका लागि पहल गर्न बुझाइएको उक्त ध्यानाकर्षणपत्रमा घरेलु हिंसा, यौनजन्य दुर्व्यवहार, कार्यस्थलमा हुने विभेद, बालविवाह, मानव बेचबिखनदेखि पछिल्लो समय बढ्दो डिजिटल हिंसासम्मका घटनाले महिलाको अधिकार, आत्मसम्मान र स्वतन्त्रतामा गम्भीर असर पारिरहेको उल्लेख गरिएको छ।
संविधानले अधिकार सुनिश्चित गरे पनि व्यवहारमा कानुन कार्यान्वयन कमजोर हुँदा पीडित महिलाहरू न्यायबाट टाढा रहन बाध्य भएको, सिडो रोडम्यापको प्रभावकारी कार्यान्वयन, लैङ्गिक हिंसाविरुद्ध एकीकृत कानुन निर्माण, द्रुत र पीडितमैत्री न्याय प्रणालीको व्यवस्था, तथा साइबर हिंसालाई स्पष्ट रूपमा कानुनी दायरामा ल्याउनुपर्ने माग पनि गरिएको छ।
यसैगरी सुरक्षित मातृत्व, प्रजनन स्वास्थ्य अधिकार, डिजिटल सुरक्षा र सबै वर्गका महिलालाई समान पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिइएको छ ।
समूहले विशेषगरी दलित, आदिवासी, अपाङ्गता भएका, तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका महिलाहरू उच्च जोखिममा रहेको भन्दै उनीहरूलाई प्राथमिकतामा राखेर नीति, कार्यक्रम र स्रोत परिचालन गर्न सरकारसँग आग्रह गरेको छ।
भेटकाक्रममा मन्त्री सिता बादीले सञ्चारिका समूहसँग सहयात्रा गर्दै काम गर्ने प्रतिबद्धता जनाउँदै ध्यानाकर्षणपत्रमा भएका मुद्दालाई संवेदनशील रूपमा लिएर आवश्यक पहल गर्ने बताईन् । दुवै पक्षबीच आगामी दिनमा नीति निर्माणदेखि कार्यान्वयन तहसम्म सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको थियो ।






