छैटौं अन्नपूर्ण म्याराथनको तयारी तिब्र, १३ विदेशीसहित ४० धावकले भाग लिने
  • जरूवाखबर

  • पोखरा, ८ जेठ । अन्नपूर्ण सेन्चुरी पर्यटन समिति कास्कीले छैटौं अन्नपूर्ण म्याराथन गर्ने भएको छ । साहसिक खेल पर्यटन प्रवर्द्धनको उद्देश्यसहित यहि जेठ २० गते ‘जून ३’ अन्नपूर्ण म्याराथन गर्न लागेको समितिले जनाएको छ ।

    म्याराथनमा बेलायत, थाईल्याण्ड, फ्रान्स, हल्याण्ड लगायत देशका १३ विदेशीसहित ४० धावकले भागलिने निश्चित भईसकेको समितिका अध्यक्ष एवम् प्रतियोगिता संयोजक ललित गुरुङले जानकारी दिए । उनका अनुसार म्याराथन अन्नपूर्ण आधारशिविर ‘एबीसी’बाट शुरु भई माछापुच्छ्रे आधार शिविर, बगर,देउराली, हिन्कु केभ, हिमालय, दोभान, बाम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ, चुइँले, मेलाँचे, कोम्रोङडाडाँ, किम्रोनखोला, उरी हुदैं घान्द्रुक आईपुग्ने छ ।

    महिला तथा पुरुष दुवै विधामा हुने प्रतिस्पर्धाका विजेता धावकले नगद एक लाख ५० हजार, एक लाख र ५० हजार रुपैयाँ नगदराशीको पुरस्कार प्राप्त गर्ने छन् । समितिका अनुसार अर्जेन्टिनाका धावक पाब्लो उरेटाको समेत म्याराथनमा सहभागिता रहने छ ।

    प्रतियोगिताकालागि ३८ लाख रुपैयाँ खर्च हुने अनुमान समितिले गरेको समितिका अध्यक्ष एवम् प्रतियोगिता संयोजक गुरुङले जानकारी दिए ।

    ४१३० मिटरको उचाईबाट शुरु हुने यो दौड कास्कीको पर्यटकीय गाँउ घान्द्रुक आएर टुंगिनेछ । एभरेष्ट म्याराथनपछिको सर्वाधिक उचाईको यो दौडले पर्यटन प्रवर्द्धन मात्रै नभई पर्वतारोही मौरिस हर्जोगको सम्मानार्थ समेत आयोजना गरिएको समितिले उल्लेख गरेको छ ।

    समितिले फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगले अन्नपूर्ण हिमाल आरोहणको अवसरमा प्रत्येक वर्षको जून ३ मा म्याराथन आयोजना गर्दै आएको छ ।

    मौरिस हर्जोगले सन १९५० जून ३ मा विश्वको आठहजार मिटर अग्लो हिमाल आरोहणको कीर्तिमान अन्नपूर्ण हिमाल आरोहण गरेर कायम गरेका थिए । सोही दिनलाई कास्कीबासी तथा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले अन्नपूर्ण आरोहण दिवस मनाउँदै आएको छ ।

     

  • ८ जेष्ठ २०८३, शुक्रबार ०९:५२ प्रकाशित