पोखरा, ८ जेठ। गृह मन्त्रालयले जेठ १४ गते बकर ईद ‘ईद–उल–अज्हा’को अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । शुक्रबार विज्ञप्ति जारी गरी बकर ईदको अवसरमा विदा दिने निर्णय गरेको हो ।
गृह प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिमा राजपत्रमा प्रकाशित सूचना अनुसार इश्लाम धर्मालम्बीहरूको बकर ईद ‘ ईद–उल–अज्हा’को दिन सार्वजनिक विदा दिने व्यवस्था रहेको र १४ गते सो चाड रहेकोले विदा दिने निर्णय भएको जानकारी दिएका छन् ।
ईदको विदासंगै जेठ १४ गतेदेखि ४ दिन लगातार सार्वजनिक विदा परेको छ । जेठ १५ गते गणतन्त्र दिवसको विदा दिने यसअघि नै राजपत्रमा प्रकाशित छ । १६ गते शनिबार र १७ गते आइतबार सार्वजनिक विदा हुन्छ । त्यसले गर्दा १४ देखि १७ गतेसम्म ४ दिन लगातार विदा परेको हो ।







