पोखरा बसपार्क क्षेत्रका ५७५ जनाको विवरण दर्ता

वास्तविक सुकुमबासी व्यवस्थापनकालागि दर्ता विवरण अनिवार्य- महानगर प्रमुख आचार्य

  • जरूवाखबर

  • पोखरा, ९ जेठ । पोखरा महानगरपालिका वडा नं.९ पृथ्वीचोकको प्रस्तावित बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमबासी तथा भूमिहिन ५७५ जनाले आफ्नो विवरण महानगरमा दर्ता गराएका छन् । महानगरले बसपार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुमवासी, भूमिहिन, अव्यवस्थित बसोबासीलाई आफ्नो विवरण दर्ता गर्नकालागि सूचना जारी गरेपछि सम्बन्धित वडामा गएर विवरण दर्ता गराएका हुन् । महानगरले तीन दिनभित्र दर्ता गर्नकालागि यही जेठ ६ गते सूचना जारी गरेको थियो ।

    वडा नं ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले ८ गते साँझ तोकिएको समयसम्म ५७५ जनाले आफ्नो विवरण दर्ता गराएको जरुवाखबरलाई जानकारी दिए ।

    दर्ताकाक्रममा महानगरले यसअघि वितरण गरेको निस्साको प्रतिलिपि, घरमूलि र परिवारका सदस्यसहितको विवरण माग गरेको थियो । महानगरले सुुकुमवासीसँग माग गरेको विवरणमा घरमूलि सहित परिवारका सदस्यको नामथर,पेशा, शैक्षिक योग्यता र दक्षता, अशक्त, असहाय, वृद्ध वा सुत्केरी र सम्पर्क नम्बर समेत रहेको छ ।

    महानगरले बसपार्कको अतिक्रमित जमिन खाली गर्ने योजनाअनुसार गत वैशाख ३ गते त्यहाँ बसोबास गरिरहेकालाई हट्नका लागि ३५ दिनको सूचना जारी गरेको थियो ।

    छानविन गरेर वास्तविक सुकुमबासी व्यवस्थापनकालागि दर्ता विवरण अनिवार्य भएको महानगर प्रमुख धनराज आचार्यको भनाई छ । वास्तविक सुकुमवासीको पहिचानको काम अहिले भइरहेको र पहिचानका कार्यहरु सम्पन्नपछि वास्तविक सुकुमवासीको व्यवस्थापन गर्ने र बसपार्क बनाउने प्रमुख आचार्यले जानकारी दिए ।

    सुविधा सम्पन्न बसपार्क निर्माणका लागि २०३२ सालमा पृथ्वीचोकमा २०५ रोपनी जमिन छुट्टाइएको थियो । पाँच दशक बितिसक्दा पनि बसपार्कका लागि योजना अघि नबढ्दा छुट्टाएको २०५ रोपनी जमिन हाल आएर २६ रोपनीमा खुम्चिएको छ । नगर विकास समितिले पुरानो विमानस्थलबाट विस्थापितलाई बसपार्कको जग्गामा लगेर राखेको थियो ।  प्रस्तावित बसपार्कको जग्गामा अहिले ठुलो संख्यामा सुकुमबासी, भूमिहीन तथा अव्यवस्थित बसोबासी बसिरहेका छन् ।

  • ९ जेष्ठ २०८३, शनिबार ०८:५१ प्रकाशित