गण्डकी प्रदेशमा राइड सेयरिङको भाडादर निर्धारण, भाडा बाहेक अरु शुल्क असुल्न नपाईने
  • जरूवाखबर

  • पोखरा, १७ जेठ । गण्डकी प्रदेश सरकारले प्रदेशभित्र चल्ने राइड सेयरिङ साधनहरु दुई पांग्रे र चार पांग्रे साधनको भाडादर तोकेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले लामो समयदेखि अन्योलताभित्र रहेको राइड सेयरिङ सेवाको भाडादर औपचारिक रूपमा तोकेको हो । प्रदेश सरकारले दुई पांग्रे र चार पांग्रे सवारी साधनका लागि छुट्टाछुट्टै भाडादर तोकेको छ।

    राइड सेयरिङ नियमावली मन्त्रिपरिषद् बैठकबाट पारित गरी प्रदेश सरकारले कार्यान्वयनमा ल्याएको छ । वैशाख २२ गतेको बैठकबाट नियमावली पारित गरिएको हो । यसअघि २०८२ वैशाख ३० गतेको बैठकबाट पहिलो पटक नियमावली पारित भएको थियो । तर, संघ सरकारको परिपत्र र यातायात व्यवसायीको विरोधका कारण उक्त नियमावली कार्यान्वयनमा रोक लागेको थियो । अहिले दोस्रो पटक नियमावली पारित गरिएको हो । सोही नियमावली अन्तर्गत मन्त्रालयले भाडादर तोक्ने उल्लेख छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयद्धारा निर्धारित भाडादर अनुसार, चार पांग्रे र दुई पांग्रेमा फरक फरक शुल्क समेटिएको छ । त्यसमा पनि पेट्रोल र विद्युतीय सवारी साधनमा दर फरक फरक छ । दुवै सवारी साधनले यात्रुलाई सहुलियत दिनुपर्ने व्यवस्था नियमावलीमै गरिएको छ ।

    चार पांग्रे पेट्रोलबाट चल्ने सवारीसाधनको सुरुवाती भाडा ६० रुपैयाँ तोकिएको छ । त्यसपछि प्रति किलोमिटर ४८.५ रुपैयाँ छ । २ किलोमिटरसम्मको आधार भाडा १५६.५ रुपैयाँ छ । आधार भाडा सुरुवाती र २ किलोमिटरसम्मको दुरीका लागि तोकिएको छ । तोकिएको भाडामा पेट्रोलबाट चल्ने सवारीमा १० र विद्युतीय सवारीमा १५ प्रतिशत छुट दिनुपर्ने बाध्यकारी व्यवस्था छ । चारपांग्रेमा २ किलोमिटरसम्म आधार भाडा नै लाग्नेछ र त्यसपछि थप दूरीको लागि भाडा बढ्दै जानेछ ।

    दुई पांग्रे सवारीसाधनको सुरुवाती भाडा ३० रुपैयाँ तोकिएको छ । यो रकम सुरुवाती यात्रा दूरीका लागि प्रयोग हुनेछ भने त्यसपछि प्रति किलोमिटर १६.८५ रुपैयाँ कायम गरिएको छ । आधार भाडा १ किमीसम्म प्रयोग हुनेछ । यसका लागि ४६. ८५ रुपैयाँ लाग्नेछ । दुईपांग्रेले पनि पेट्रोलबाट चल्ने सवारीमा १० र विद्युतीय सवारीमा १५ प्रतिशत छुट दिनुपर्ने भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

    १. चार पांग्रे (कार/ट्याक्सी) का लागि:
    सुरुवाती भाडा: ६० रुपैयाँ।
    आधार भाडा (२ किलोमिटरसम्म): १५६.५ रुपैयाँ
    थप दूरीका लागि: प्रतिकिलोमिटर ४८.५ रुपैयाँ

    २. दुई पांग्रे (मोटरसाइकल/स्कुटर) का लागि:
    सुरुवाती भाडा: ३० रुपैयाँ।
    आधार भाडा (१ किलोमिटरसम्म): ४६.८५ रुपैयाँ
    थप दूरीका लागि: प्रतिकिलोमिटर १६.८५ रुपैयाँ

    भौतिक पूर्वाधार विकास मन्त्री गोविन्दबहादुर नेपालीका अनुसार अब राइड सेयरिङ सेवा प्रदायकहरूले सरकारले तोकेको भाडादर र छुटसम्बन्धी विवरण अनिवार्य रूपमा आफ्नै एपमा समावेश गर्नुपर्नेछ। तोकिएको भाडा बाहेक यात्रुसँग अन्य कुनै पनि प्रकारको अतिरिक्त शुल्क असुल गर्न नपाइने मन्त्री नेपालीले स्पष्ट पारेका छन्।

     

  • १७ जेष्ठ २०८३, आईतवार १०:१६ प्रकाशित