पोखरा, १९ जेठ । गण्डकी प्रदेश सरकारको आगामी आव २०८३- ०८४ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुँदैछ । प्रदेश प्रमुख डिल्लीराज भट्टले आज अपराह्न ४ः०० बजे बस्ने प्रदेशसभा बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने प्रदेशसभा सचिवालयका सचिव गोविन्द पौडेलले जानकारी दिए ।
प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ । त्यसअघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुन लागेको हो ।
प्रदेशसभाको बजेट अधिवेशन यही जेठ ११ गतेदेखि सुरू भएको थियो । यसबिचमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल भएको प्रदेशसभा सचिवालयले जनाएको छ ।
नेपालको संविधानको धारा १८४ को उपधारा २ बमोजिम प्रदेश प्रमुखले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरी सम्बोधन गर्नेछन् । संवैधानिक प्रावधानअनुसार प्रदेश सरकारले असार १ गते बजेट ल्याउनुपर्ने र त्यसअघि नै नीति तथा कार्यक्रम पारित गरिसक्नुपर्ने कानुनी बाध्यता रहेको छ ।






