पोखरा, २२ जेठ । गृह मन्त्रालयले कास्की सहित १३ जिल्लामा प्रमुख जिल्ला अधिकारी ‘सिडिओ’ परिवर्तन गरेको छ । शुक्रबारको गृहमन्त्रीस्तरीय निर्णयबाट सिडिओ फेरिएको हो ।
कास्कीका सिडिओ रुद्रादेवी शर्मालाई धनकुटा सरुवा गरिएको छ । शर्माको सरुवासंगै बागलुङमा प्रजिअ रहेका कुमानसिंह गुरुङ कास्कीको सिडिओ बनेका छन् ।
शर्मा १ वर्षदेखि कास्कीमा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत थिइन्। गृह मन्त्रालयले नियमित प्रशासनिक सरुवाअन्तर्गत शर्मा र गुरुङको जिम्मेवारी हेरफेर गरेको जनाएको छ।
गुरुङले चाँडै नै कास्कीमा कार्यभार सम्हाल्नेछन्।
यसैगरी गण्डकी प्रदेश अन्तर्गत स्याङजाका ईश्वरीप्रसाद अर्याललाई संखुवासभाको सिडिओमा लगिएको छ भने स्याङजामा निराजन घिमिरे आउने भएका छन् ।
नवलपुरका भविश्वर पाण्डेको पाल्पा सरुवा भएको छ भने उक्त जिल्लामा सुर्खेतबाट जगदिश्वर उपाध्यायलाई ल्याइएको छ । मन्त्रालय अन्तर्गतका पाँच महाशाखा र विभागमा पनि सहसचिव परिवर्तन भएका छन् ।








