वातावरण दिवस: पोखरा महानगरभित्रका विभिन्न क्षेत्रमा ६ हजार बढी वृक्षारोपण
  • जरूवाखबर

  • पोखरा, २२ जेठ । विश्व वातावरण दिवसका अवसरमा शुक्रवार पोखरा महानगरपालिकाका विभिन्न क्षेत्रहरूमा ६ हजार बढी बिरुवाहरू लगाइएको छ ।

    नगर प्रमुख धनराज आचार्यको उपस्थितिमा महानगरले पोखरा उपत्यका नगर विकास समितिको कार्यालय परिसरमा विभिन्न प्रजातिका फूल तथा फलफूलका बिरुवाहरू लगाइएको हो ।

    पोखरालाई स्वच्छ शहर, हरित शहरको रूपमा विकास गर्न ध्येयसहितपोखरा महानगरपालिका नगरभित्र मेगा वृक्षारोपण अभियानमा जुटेको छ । नगर प्रमुख आचार्यले मेगा वृक्षारोपणको अभियानका क्रममा आ–आफ्नो स्थानबाट बिरुवाहरू लगाएर ग्रिन पोखरा क्लिन पोखरा निर्माणमा योगदान गर्न नगरवासीहरूलाई आह्वान गर्नुभएको छ । आफ्नो घर तथा पसल अगाडी लगाइएका बिरुवाहरूको नियमित गोडमेल तथा संरक्षण गर्दै वातावरणीय स्वच्छता प्रवर्द्धन गर्न उनले आग्रह गरे ।

    वन विज्ञान अध्ययन संस्थान र वन तथा वातावरण सम्बन्धी विज्ञहरूको सुझाव अनुसार नगर क्षेत्रको ७ सय किमी सडक तथा राजमार्ग, झन्डै ६७ किमी नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको १२५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका २ लाख २६ हजार बिरुवाहरू लगाइने उनले बताए ।

    विज्ञहरूको सुझाव अनुसार महानगर क्षेत्रमा पहिचान गरिएको क्षेत्रमा लगाउन सकिने बिरुवाहरूमा वर, पिपल, शमी, पैयुँ, कोइरालो, टाँकी, लाली गुराँस, असारे, आँप, अमला, अशोका, कल्की फुल, राइखन्यु, गुलमोहर, बैँस, लालुपाते, कागज पाते, पालम, धुपी, बाँस, खयर, सिसौ, पाखुरी, राजवृक्ष, रातो पाते, सिना एक्साटाविलिस, टिकोमा, कपुर, लिची, किम्बु, बेल, अम्बा, निमारो, कदम, रुद्राक्ष, बेडुला, नारेश्वर, जङ्गली केरा लगायत छन् ।

    यसैबीच पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्यालले ग्रिन पोखरा क्लिन पोखराको अभियानलाई सार्थक तुल्याउन हरेक नगरवासीहरूले आफ्ना अगाडीका बिरुवाहरूको संरक्षणको दायित्व लिनुपर्ने बताएका छन् ।

  • २२ जेष्ठ २०८३, शुक्रबार १५:५७ प्रकाशित