पोखरा, २३ जेठ । ईलाका प्रहरी कार्यालय शिशुवाले चोरी गर्दै गरेका एकजनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नं २६, माझको डाँडास्थित धनबहादुर खड्काको घरमा चोरी गर्दै गरेका राजन तामाङलाई शिशुवा प्रहरीले पक्राउ गरेको हो ।
कोही नभएको मौका छोपी खड्काको घरको मूलढोका र घरभित्रको कोठाको ताल्चा फोडी कोठाभित्रको दराज समेत तोडफोड गरी धनमाल चोरी गर्दै गरेको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई खबर गरिएको थियो । स्थानीयको होहल्लापछि भागेका तामाङलाई ताल्चा तोडफोड गर्न प्रयोग गर्ने फलामको औजारसहित प्रहरीले पक्रन सफल भएको सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक विरेन्द्रकुमार पासवानले जानकारी दिएका छन् ।
काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपालिका वडा नं ११ घर भएका तामाङलाई नियन्त्रणमा लिई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका उद्योग सम्बन्धी कसूरमा १० दिन म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडि बढाईएको प्रहरीले जनाएको छ ।







