पोखरामा भारतीय पर्यटक लक्षित ट्राफिक सचेतना अभियान
  • जरूवाखबर

  • पोखरा, ४ असार । पोखराका लेकसाईड लगायत प्रमुख पर्यटकीय क्षेत्रमा भारतीय पर्यटकको चाप बढेसँगै सडक सुरक्षा र सवारी व्यवस्थापनका लागि विशेष सचेतना अभियान सुरु गरिएको छ । लेकसाइड लगायतका प्रमुख पर्यटकीय स्थलमा सुरक्षा र ट्राफिक व्यवस्थालाई थप प्रभावकारी बनाउन यो अभियान थालिएको हो ।

    अभियानका क्रममा पर्यटकलाई सडकको अवस्था र ट्राफिक नियमका बारेमा जानकारी दिइएको छ । सवारी पार्किङ गर्दा अपनाउनुपर्ने सावधानी तथा कुनै पनि आपत्कालीन अवस्था वा घटना भएमा तत्काल सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बरहरुका बारेमा समेत जानकारी गराइएको छ । पर्यटकको यात्रालाई सहज र सुरक्षित बनाउन यो कार्यक्रम सहयोगी हुने देखिएको छ ।

    यस अभियानमा राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय गगनगौंडा र जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुखहरु सहभागी थिए । मातहतका प्रहरी कार्यालयका प्रमुखहरुको पनि कार्यक्रममा उपस्थिति रहेको थियो । यो सचेतना अभियान आगामी दिनमा समेत निरन्तर सञ्चालन गरिने प्रहरीले जनाएको छ ।

    गण्डकी प्रदेशको समग्र पर्यटन प्रवर्द्धनमा यो अभियानले सकारात्मक योगदान पुर्‍याउने अपेक्षा गरिएको छ । पोखरा भित्रिने विदेशी सवारी साधन र पर्यटकलाई लक्षित गरी गरिएको यो कार्यक्रमले पर्यटकीय क्षेत्रको छवि राम्रो बनाउने स्थानीयले बताएका छन् । प्रहरीले भारतीय पर्यटकलाई केन्द्रित गरेर यो अभियान सञ्चालन गरेको भए पनि यसको फाइदा सबै पर्यटक र स्थानीयलाई हुने विश्वास लिईएको छ ।

  • ४ असार २०८३, बिहीबार ०७:३२ प्रकाशित