पोखरा, ४ असार । पोखरा महानगरपालिकाले पोखरा बसपार्क क्षेत्रभित्र बनाइएका घरटहरा लगायतका संरचना डोजर लगाएर भत्काउन सुरु गरेको छ ।
विहीबार मात्रै महानगरले करिव ४५ वटा घरटहरामा डोजर लगाईएको पोखरा महानगरपालिकाको सुरक्षा तथा नगर निरीक्षण शाखा प्रमुख प्रहरी निरीक्षक ‘इन्स्पेक्टर’ पुरुषोत्तम थापाले जानकारी दिए । उनले भने ‘राजमार्गको दक्षिणपट्टि मूल रोडसँग जोडिएका करिब ४०/४५ घरटहरा तथा दक्षिणतर्फका करिब एक सय घरटहरा भत्काइएको छ, सहमतिअनुसार पहिल्यै खाली भइसकेका खाली घरटहरा आज भत्काएका हौं ।’
महानगरले दिएको समयसीमा सकिएपछि बिहीबार महानगर टहरा भत्काउन ३ वटा डोजर लिएर पुगेको थियो । ती डोजरले बसपार्कको उत्तरी क्षेत्र पृथ्वी राजमार्गसँगै जोडिएको क्षेत्र र दक्षिणी क्षेत्र (सकुमबासी बस्तीभन्दा पश्चिमतर्फको भाग) मा रहेका घरटहरा भत्काएको छ । भत्काइएका घरटहरा व्यक्तिको लालपुर्जा भएका जग्गामा बनेका हुन् । यद्यपि, सो जग्गा बसपार्कभित्रै पर्छ ।
२०३२ सालमा बसपार्क बनाउन २५५ रोपनी जग्गा खरिद गरिए पनि केहीलाई एयरपोर्ट बनाउन जग्गा अधिग्रहण गर्दा त्यसको सट्टाभर्नामा दिइएको त कतिपयलाई उपत्यका नगर विकास समितिको निर्णयबाट सोझै दिइएको पाइएको छ । त्यस्तै, कतिपयले दबाब, प्रभाव र पहुँचका भरमा पनि लालपुर्जा बनाएको आरोप लाग्दै आएको छ । सोही जग्गामा बनेका घर, टहरामा बिहीबार डोजर चलेको हो ।
महानगरले दिएको समयसीमाभित्रै त्यस क्षेत्रका व्यवसायी तथा घरधनीहरूले घर तथा टहरा छाडिसकेका थिए । सो क्षेत्र खाली गराउन महानगर र स्थानीयबासीबीच सहमति भएको थियो । स्थानीयले महानगरले दिएको समयसीमाभित्र घरटहरा भत्काउने र महानगरले स्थानीयबासीका लागि आवश्यक वैकल्पिक व्यवस्था गर्ने सहमति भएको थियो । सोही सहमतिअनुसार स्थानीयले घर, टहरा खाली गरेका थिए ।
खाली घर, टहरामा चलेको डोजर पेट्रोल पम्पमा पुगेपछि भने रोकिएको छ । अति प्रज्वलनशील पदार्थ पेट्रोलपम्पमा डोजर चलाउनुभन्दा पेट्रोलपम्प धनीलाई नै पेट्रोलपम्प सार्नका लागि समय दिएपछि बिहीबार त्यहाँ डोजर नचलेको हो । त्यहाँ केही दिनपछि मात्र डोजर चल्ने पोखरा महानगरपालिकाका सुरक्षा तथा नगर निरीक्षण शाखा प्रमुख प्रहरी निरीक्षक थापाले बताए । ‘अति प्रज्वलनशील पदार्थ भएको पेट्रोलपम्प सार्न पेट्रोलपम्प धनीलाई नै भनिएको छ र उहाँ सार्न तयार हुनुहुन्छ ।’ उनको दाबी छ । त्यसपछि त्यहाँ बाँकी रहेका संरचना भत्काइने उनको भनाइ छ ।
बसपार्क क्षेत्रभित्रको बाँस्तोला कम्प्लेक्सलाई शुक्रबारसम्मको म्याद दिएकाले सो क्षेत्रमा डोजर नलगाईएको महानगरले जनाएको छ । नगर प्रमुख धनराज आचार्यका अनुसार सहमतिअनुसार दिएको समयसीमाभित्र आफ्नो सामान व्यवस्थापन गर्ने भनिएको छ । दिईएको समयसिमाभित्र खाली नगरे शनिबार डोजर लगाएर सबै संरचना हटाईने जनाइएको छ ।
यसैबीच पोखरा बसपार्कको जग्गामा रहेका सुकुमबासी बस्ती भने वैकल्पिक व्यवस्था नभएसम्म नहटाइने भएको छ । महानगरले यसअघि सुकुमबासी बस्ती तत्काल हटाउन भन्दै बारम्बार सूचना निकालेर ताकेता गरेको थियो । तर त्यहाँका सुकुमबासीहरुले वैकल्पिक व्यवस्था नभएसम्म नहट्ने अडान लिएपछि महानगर डोजर लगाउने निर्णयबाट पछि हटेको हो । सुकुमबासीहरुको वैकल्पिक व्यवस्थाकालागि महानगरले विभिन्न उपसमिति बनाएको छ ।






