पोखरा, ६ असार । जिल्ला प्रहरी कार्यालय कास्कीले आफ्नो विशेष अभियान ‘अपरेशन ३६५ ‘ लाई थप आक्रामक बनाएको छ ।
बुधबार अभियानकाक्रममा पोखरामा सवारी साधनको स्वरुप परिवर्तन ‘मोडिफाई’ गरी चलाउने २३ मोटरसाईकल नियन्त्रणमा लिएको छ । बुधबार राति पोखराका विभिन्न स्थानमा गरिएको विशेष चेकजाँचका क्रममा प्रहरीले थप २३ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले ११ वटा, वडा प्रहरी कार्यालय रामबजारको टोलीले ४ वटा र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीको टोलीले ८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको हो।
यससँगै ‘अपरेसन ३६५’ अभियानको थालनी भएयता हालसम्म नियन्त्रणमा लिइएका सवारी साधनको संख्या ७१२ पुगेको छ भने यस कार्यमा संलग्न ३६ जनालाई समेत कानुनी दायरामा ल्याइएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख, प्रहरी उपरीक्षक ‘एसपी’ नवीन कार्कीले सवारी साधनको स्वरुप परिवर्तन गर्ने कार्यले दुर्घटनाको जोखिम बढाउनुका साथै ध्वनि प्रदूषण समेत फैलाउने भएकाले यसलाई कडाइका साथ नियन्त्रण गर्न लागिएको बताए। उनले भने ‘सवारी धनीहरूले आफ्नो साधनलाई पूर्ववत् असली स्वरूपमा मात्र चलाउनुहुन र वर्कसप, ग्यारेज तथा रिकन्डिसन हाउस सञ्चालकहरूलाई पनि सवारी साधन मोडिफाई गर्ने कार्य नगर्न-नगराउन विशेष अनुरोध गर्दछु।’
प्रहरीले मोडिफाई गरी चलाएको पाइएमा सवारी धनी र सो कार्यमा संलग्न वर्कसप सञ्चालक वा व्यक्तिहरूलाई समेत कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी दिएको छ।






