पूर्व अर्थमन्त्री विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ
  • जरूवाखबर

  • सुर्खेत, ८ असार । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेल पक्राउ परेका छन् । सम्पत्ति शुद्धीकरण अनुसन्धानका लागि पौडेललाई सोमबार सुर्खेतबाट पक्राउ गरिएको हो ।

    पुनर्गठन अभियानका लागि सुझाव संकलन गर्न सुर्खेत पुगेका पौडेल सोमबार सुर्खेतको शुभ होटलबाट पक्राउ परेका हुन् । होटलको सभाकक्षमा अन्य एमाले नेताहरूसँग छलफल गरिरहेका बेला प्रहरी टोली पुगेर उनलाई नियन्त्रणमा लिएको हो ।

    सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सोमबार नै सुर्खेत जिल्ला प्रहरी कार्यालयलाई पत्र पठाएर पौडेललाई पक्राउ गर्न निर्देशन दिएको थियो । विभागले ललितपुरको भैंसेपाटीस्थित पौडेलको निवासमा छापा मारेर केही महत्वपूर्ण कागजात पनि बरामद गरेको स्रोतले जनाएको छ ।

    विभागका अनुसार, पौडेलमाथि राज्य संयन्त्रमा रहँदा विभिन्न व्यापारिक तथा स्वार्थ समूहको हितमा काम गरेर लाभ लिएको गम्भीर आरोप छ । सेयर कारोबार र सम्पत्तिको शंकास्पद स्रोतबारे अनुसन्धानका क्रममा उनी पक्राउ परेका हुन् । विभागले उनलाई काठमाडौं ल्याएर हिरासतमा राख्ने र मंगलबार विशेष अदालतमा म्याद थपका लागि प्रस्तुत गर्ने तयारी गरेको छ ।

     

  • ८ असार २०८३, सोमबार २२:२१ प्रकाशित