पोखरा, १० असार । होटल संघ पोखरा नेपालका कार्यालय प्रमुख रामप्रसाद खनालको मस्तिष्कघातका कारण निधन भएको छ । खनाललाई अचानक मस्तिष्कघात भएको र उपचारकै क्रममा निधन भएको संघले जनाएको छ ।
४१ वर्षीय खनाल ‘जाऔँ है पोखरा’ अभियानका क्रममा पाल्पा पुगेका बेला आइतबार अचानक मस्तिष्कघातबाट गम्भीर बिरामी भएका थिए । उपचारकालागि भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्समा भर्ना गरिए पनि उपचारकै क्रममा बुधबार खनालको निधन भएको होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले बताए ।
होटल संघ पोखरा नेपालले आजै एक शोक विज्ञप्ति जारी गर्दै खनालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै संस्थालाई स्तब्ध, मर्माहत र अपूरणीय क्षति पुगेको उल्लेख गरेको छ। संस्थाले कर्तव्यनिष्ठ, मेहनती र सबैसँग आत्मीय सम्बन्ध कायम गर्न सक्ने व्यक्तित्वका रूपमा खनाल रहेको स्मरण गरेको छ ।
संघले दिवंगत खनालप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ । गोरखाको आरुघाट स्थायी घर भएका खनालका श्रीमती र एक छोरी छन्।






