पोखरा, १७ असार । पोखराका अग्रज पत्रकार केशवराज पराजुलीको ९२ वर्षको उमेरमा गएराति निधन भएको छ । उनको गएराति १२ बजे पोखरा ३ स्थित आफ्नै निवास नदीपुरमा निधन भएको हो ।
लामो समयदेखि पत्रकारिता तथा प्रेस स्वतन्त्रताको पक्षमा कलम चलाउँदै आएका पराजुलीको निधनले पोखराको सञ्चार, सामाजिक तथा बौद्धिक क्षेत्र गहिरो शोक परेको छ ।
पोखराको पत्रकारिताको विकास र प्रेस स्वतन्त्रताको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउदै आएका पराजुलीले पोखरेली पत्रकारिताका अध्येता तथा लेखकका रूपमा आफ्नो विशिष्ट पहिचान स्थापित गरेका थिए । उनी ‘जनमत दैनिक’ का संस्थापक सम्पादक हुन् ।
प्रजातान्त्रिक आन्दोलन तथा अभिव्यक्ति स्वतन्त्रताको पक्षमा पुर्याएको योगदानको सम्मानस्वरूप पोखरा महानगरपालिकाको ‘पोखरेली नवरत्न सम्मान’ लगायत विभिन्न संघ–संस्था तथा निकायबाट सम्मानित भईसकेका पराजुलीको निधनले अपूरणीय क्षति पुगेको छ ।
अग्रज पत्रकार पराजुलीको आजै तुलसीघाटमा अन्तिम दहसंस्कार गरिएको छ । स्वर्गीय पराजुलीका १ छोरा र ४ छोरी छन् ।






