कास्की पोखरा हस्तकला संघको १६ औँ वार्षिकोत्सव सम्पन्न
  • जरूवाखबर

  • पोखरा, २२ असार । कास्की पोखरा हस्तकला संघले आफ्नो स्थापनाको १६औँ वार्षिकोत्सव मनाएको छ । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले नेपाली हस्तकलालाई कला, संस्कृति र मौलिक पहिचानको कडीका रूपमा व्याख्या गर्दै यस क्षेत्रको संरक्षण र व्यवसायीकरणका लागि सबै पक्ष मिल्नुपर्नेमा जोड दिए । स्थानीय उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन व्यवसायीले गुणस्तर र नवप्रवर्तनमा ध्यान दिनुपर्ने बताउँदै कार्कीले हस्तकला क्षेत्रको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए ।

    संघकी अध्यक्ष सीता गुरुङले संस्थाको उपलब्धिबारे जानकारी दिदै संघले स्थापनाकालदेखि नै व्यवसायीको क्षमता र सीप विकासमा काम गरिरहेको उनले बताइन् । आगामी दिनमा नयाँ पुस्तालाई हस्तकलामा आकर्षित गर्ने कार्यक्रम ल्याउने उनको योजना छ । व्यवसायीको हकहित संरक्षण र सीप हस्तान्तरणका कामलाई अझ प्रभावकारी बनाइने प्रतिवद्धता उनले व्यक्त गरिन् ।

    कार्यक्रममा कोसेली घरको गतिविधिबारे चीनु गुरुङले प्रकाश पारिन् । कोसेली घर सञ्चालनका लागि सबैको सहयोग अपरिहार्य रहेको उनले बताइन् । यस्तै पूर्व अध्यक्ष रामकली खड्का, महिला उद्यमी संघ कास्कीकी अध्यक्ष एलिना बराल र नेका नेत्री विष्णु पाण्डेले हस्तकलाको महत्वबारे बोलेका थिए ।

    संस्थापक अध्यक्ष हीरा भट्टराई र सदस्य उषा बरुवालले स्थानीय उत्पादनले स्वरोजगार सिर्जनामा पुर्‍याएको योगदानको चर्चा गरे । सहभागी वक्ताहरूले हस्तकला उद्योगका लागि राज्यले विशेष नीति र सहुलियत ल्याउनुपर्ने माग गरे ।

    सोही अवसरमा संघले विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरेको छ । संघकी सचिव पम्फा पहारीले सञ्चालन गरेको सो कार्यक्रममा उपाध्यक्ष गोमा ढकालले धन्यवाद ज्ञापन गरेकी थिइन् । कार्यक्रममा हस्तकला व्यवसायी, संघका पदाधिकारी तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

     

  • २२ असार २०८३, सोमबार ११:५५ प्रकाशित