पोखरा, २६ असार । पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक भारतीय पर्यटकको मृत्यु भएको छ ।
भारतको बिहार घर भएका २८ वर्षीय रोहित कुमारको शुक्रबार दिउँसो पौडी खेल्नेक्रममा तालमा डुबेर ज्यान गएको हो ।
तालबाराही मन्दिर नजिकै डुंगाबाट ओर्लेर पौडी खेल्न पसेका रोहित चार जना साथीहरूसहित पोखरा घुम्न आएका थिए । उनीहरू डुंगा चढेर तालबाराही मन्दिर पुगेका र मन्दिर नजिकै डुंगा किनारामा राखेर रोहित र अर्का एक साथी पौडी खेल्न तालमा पसेका थिए । पौडी खेल्ने क्रममा दिउँसो करिब ४ बजेर ५० मिनेटमा उनी अचानक तालमा डुबेर बेपत्ता भएका हुन् ।
घटना को जानकारी पाउना साथ सशस्त्र प्रहरीको विपद् व्यवस्थापन टोली खोजीमा खटिएको थियो । फेवा वाच एण्ड रेस्क्यु टावरबाट सशस्त्र प्रहरी सहायक निरीक्षक देवेन्द्र केसीको कमान्डमा टोली परिचालन भएको थियो ।
टोलीले करिब २० मिनेटको निरन्तर खोजीपछि उनलाई फेला पारेको थियो । साँझ ५ बजेर १० मिनेटमा रोहितलाई तालको करिब १० फिट गहिराइबाट अचेत अवस्थामा बाहिर निकालिएको थियो ।
उनलाई तत्कालै उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (क्षेत्रीय अस्पताल) पुर्याइएको थियो । अस्पताल पुर्याउनासाथ चिकित्सकहरूले उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता वीरेन्द्रकुमार पासवानले बताए ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।






