पोखरा, २८ असार । वर्षाका कारण कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आएको बाढीले पुल बगाएको छ । स्याउली बजार क्षेत्रमा रहेको ७ वटा होटलमा पनि पानी पसेको छ भने तटीय क्षेत्रका घरहरू जोखिममा परेका छन् ।
किम्रुङ खोलाको पुल बगेपछि खोलापारि रहेको बस्तीसँग सम्पर्क टुटेको पालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिए । स्याउलीबजार क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिएको केसीले बताए ।
यसैबीच मोदी खोलामा पानीको बहाव उच्च भएपछि बिरेठाँटी क्षेत्रका नागरिकलाई सुरक्षित स्थानमा रहन पालिकाले सूचित गरेको छ । जोखिमयुक्त क्षेत्रहरूमा पालिका र स्थानीय स्तरमै रहेका प्रहरीको समन्वयमा सुरक्षित स्थानमा जान सूचना जारी गरिएको उनले सुनाए ।
कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार र वस्तुस्थिति बुझ्नका लागि प्रहरी टोली परिचालन गरिएको छ ।
यद्यपि, टाढा र अप्ठ्यारो बाटोका कारण टोलीलाई घटनास्थल पुग्न केही समय लाग्ने प्रजिअ गुरुङले बताए ।






