पोखरा, २९ असार । ठुलो परिमाणमा लागू औषधसहित पाँच जना भारतीय नागरिक पोखरामा पक्राउ परेका छन् ।
लागू औषध ओसारपसार भईरहेको गोप्य सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरो पोखरा र इलाका प्रहरी कार्यालय शिसुवाबाट खटिएको संयुक्त टोलीले छापा मारी उनीहरुलाई पोखरा महानगरपालिका वडा नं ३२ मझुवाबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारत उत्तर प्रदेश, गोरखपुरका २७ वर्षीय विकास कुमार, २९ वर्षीय आशिष कुमार, २९ वर्षीय अभय कुमार मिश्र, ३३ वर्षीय पृतम कुमार र २५ वर्षीय अभिषेक कुमार रहेकाछन्।
पोखरातर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट यूपी ५३ ई वाई ७७०४ नम्बरको कारबाट लागूऔषध बरामद गरेको हो । उनीहरूको साथबाट डाइजापाम ६०० एम्पुल, फेनरागन ६४८ एम्पुल र बुप्रिनोर्फिन ६०० एम्पुल गरी जम्मा १ हजार ८४८ एम्पुल लागूऔषध बरामद गरेको कास्की प्रहरीका सूचना अधिकारी बीरेन्द्र पासवानले जानकारी दिए ।
त्यसैगरी उनीहरुको साथबाट नाइट्रोभ्याट ३० चक्की, ट्यापेन्टाडोल १०० चक्की, ट्रामाडोल ३८० चक्की तथा ५ थान मोबाइल फोन पनि प्रहरीले बरामद गरेको छ ।
पाँचै जनाविरुद्ध लागूऔषध सम्बन्धी कसुरमा कास्की जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी थप अनुसन्धान अघि बढाएको सूचना अधिकारी पासवानले जानकारी दिए।






