पोखरा, २९ असार । पोखरा महानगरपालिका वडा नं १२ स्थित सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक रुद्र रानाभाटलाई बाल यौन दुर्व्यवहार आरोपमा कास्की प्रहरीले पक्राउ गरेको छ ।
रानाभाटलाई शुक्रबार पक्राउ गरी कास्की जिल्ला अदालतबाट ४ दिनको म्याद थप अनुमति लिई अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता प्रहरी नायब उपरीक्षक ‘डिएसपी’ वीरेन्द्र पासवानले जानकारी दिए । पीडित बालबालिकाको उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको हो । डिएसपी पासवानका अनुसार घटनाको थप अनुसन्धान जारी छ ।
उजुरीमा रानाभाटले बालबालिकालाई विभिन्न प्रलोभन देखाउने, अनुचित प्रस्ताव राख्ने, शरीरका संवेदनशील अंगहरूमा अनुचित रूपमा छुने तथा लामो समयदेखि यस्ता व्यवहार दोहोर्याउँदै आएको आरोप लगाइएको छ । उजुरीमा उनले घटनाबारे कसैलाई जानकारी दिए परिणाम राम्रो नहुने भन्दै बालबालिकालाई डर र धम्कीसमेत दिने गरेको उल्लेख छ ।
यस्ता व्यवहार पटक-पटक दोहोरिएपछि केही बालबालिकाले बाल अधिकारका सरोकारवाला र स्थानीय अभिभावकको सहयोगमा उजुरी दिएका थिए । प्राप्त उजुरीका आधारमा प्रहरीले अनुसन्धान गर्दै रानाभाटलाई पक्राउ गरेको जनाएको छ । प्रहरीले प्रमाण संकलन, पीडित तथा सम्बन्धित व्यक्तिहरूको बयान लिने लगायत प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।






