लम्जुङ । लम्जुङको दोर्दी गाउँपालिका केन्द्र जोड्ने सडक कालोपत्र भएको छ। उदिपुर-रितेबगर-नौथर हुँदै पालिका केन्द्र पुग्ने सडक बनेपछि यात्रा निकै सहज बनेको हो। यसअघि बर्खामा हिलो र हिउँदमा धुलोका कारण स्थानीयले ठुलो सास्ती खेप्दै आएका थिए। सडकको स्तरोन्नति भएसँगै यस वर्षको बर्खामा सवारीसाधन निर्वाध रूपमा सञ्चालन भइरहेका छन्।
गण्डकी प्रदेश सरकारको ‘एक पालिका, एक सडक’ अभियानअन्तर्गत यो सडक निर्माण गरिएको हो। सडक सञ्चालनमा आएपछि सदरमुकाम बेंसीसहर र दोर्दी गाउँपालिकाबीचको यात्रा छोटो र सुरक्षित बनेको छ। विगतमा बर्खाको समयमा सडक हिलाम्मे हुन्थ्यो। सवारीसाधन चिप्लने र गाडी फस्ने समस्याले यात्रा गर्न घन्टौँ लाग्थ्यो। हिउँदमा धुलो उड्ने समस्याले स्थानीय बासिन्दा र यात्रुलाई असर पुर्याउँथ्यो। अहिले ती सबै समस्या हटेका छन्।
अस्फाल्ट प्रविधिबाट सडक कालोपत्र गरिएपछि स्थानीयले ठुलो राहत महसुस गरेका छन्। अहिले बर्खामा पनि सवारीसाधन सहजै चलिरहेका छन्। दोर्दी-४ नौथरसेराका स्थानीय लक्ष्मण गुरुङले सडक बनेपछि आउजाउ गर्न सजिलो भएको बताए। पहिले उदिपुरबाट दोर्दी पुग्न निकै समय लाग्थ्यो। अहिले मोटरसाइकल र साना सवारीबाट १५-२० मिनेटमै पुग्न सकिने उनले जानकारी दिए।
बेंसीसहर नगरपालिका-११ रामचोक बेंसीका ईश्वरराज सेडाईले पनि सडकले दैनिक यात्रामा ठुलो सुविधा पुर्याएको बताए। उनी घर र कामको सिलसिलामा नियमित यही सडक हिँड्छन्। पहिले घर पुग्न र फर्कन निकै समय लाग्ने गरेकोमा अहिले छोटो समयमै काम सकेर फर्कन सकिने अवस्था बनेको उनले बताए। ‘पहिले जानलाई मात्र लाग्ने समयमा अहिले गएर काम सकेर आउन सकिन्छ। समयको सदुपयोग भएको छ,’ उनले भने। सडक सहज भएपछि कृषि उत्पादन बजारसम्म पुर्याउन र आवश्यक सामग्री ल्याउन पनि सजिलो भएको उनको भनाइ छ।
दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले पालिका केन्द्र जोड्ने मुख्य सडक कालोपत्र भएपछि स्थानीयलाई धेरै सुविधा पुगेको बताए। रासस






