कास्की प्रहरीको ‘अपरेसन ३६५’ अभियान: थप १८ मोटरसाइकल नियन्त्रणमा
  • जरूवाखबर

  • पोखरा, ७ साउन । जिल्ला प्रहरी कार्यालय कास्कीले बुधबार ‘अपरेसन ३६५’ अभियान अन्तर्गत स्वरूप परिवर्तन गरी ध्वनि प्रदूषण गर्ने थप १८ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ।

    वडा प्रहरी कार्यालय बैदामबाट खटिएको टोलीले लेकसाइड, ड्यामसाइड, बिरौटा र छोरेपाटन क्षेत्रबाट अपरेशनकाक्रममा ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ ।
    यसैगरी वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरी टोलीले बाग्लुङ बसपार्क र हरिचोक क्षेत्रबाट ७ वटा मोटरसाइकल नियन्त्रणमा लिएको जनाएको छ।

    प्रहरीका अनुसार पोखरा महानगरपालिकाका विभिन्न स्थानमा विशेष चेकजाँच अभियान सञ्चालन गरी नियन्त्रणमा लिइएका ती मोटरसाइकलहरुलाई आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ ।

    जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार ‘अपरेसन ३६५’ अभियानअन्तर्गत हालसम्म ७४० वटा सवारी साधन र ३६ जना व्यक्ति नियन्त्रणमा लिई आवश्यक कारबाही गरिएको छ।

    प्रहरीले सवारी साधनको स्वरूप परिवर्तन गरी अनावश्यक ध्वनि प्रदूषण गर्ने, ट्राफिक नियम उल्लङ्घन गर्ने तथा सार्वजनिक शान्ति भंग गर्ने गतिविधिविरुद्ध अभियानलाई निरन्तर सञ्चालन गरिने जनाएको छ।

  • ७ श्रावण २०८३, बिहीबार १६:०३ प्रकाशित