पोखरा र भैरहवा विमानस्थलमा दिइँदै आएको सहुलियत दुई वर्ष थप
  • जरूवाखबर

  • पोखरा, ७ साउन । नेपाल सरकारले पोखरा र भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूलाई प्रदान गर्दै आएको सहुलियतलाई थप दुई वर्ष निरन्तरता दिने निर्णय गरेको छ।

    बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी २०८५ भदौ मसान्तसम्मका लागि ती दुवै विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान गर्ने एयरलाइन्सहरूलाई दिइँदै आएको विभिन्न शुल्क छुटको सुविधा लम्ब्याउने निर्णय गरेको हो।

    संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्ले अन्तर्राष्ट्रिय उडानका लागि पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्क पूर्णरूपमा छुट दिने निर्णय पारित गरेको छ। यसका साथै, विमानस्थलमा प्रवाह हुने ग्राउन्ड ह्यान्डलिङ शुल्कमा समेत ५० प्रतिशत छुट दिने मन्त्रालयको प्रस्तावलाई सरकारले स्वीकृत गरेको छ।

    सरकारको यस निर्णयलाई पर्यटन व्यवसायी तथा स्थानीय बासिन्दाहरूले सकारात्मक कदम भन्दै स्वागत गरेका छन्। यो सहुलियतले पोखरा-दुबई जस्ता गन्तव्यहरूमा नियमित उडान विस्तार गर्न र नयाँ अन्तर्राष्ट्रिय एयरलाइन्सहरूलाई नेपाल भित्र्याउन सहज वातावरण बनाउने विश्वास लिइएको छ।

    उक्त निर्णयप्रति खुसी व्यक्त गर्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले लामो समयदेखिको पहल र समन्वयपछि आएको यो कदम पर्यटन प्रवर्द्धन, हवाई पहुँच विस्तार र समग्र आर्थिक गतिविधिका लागि कोसेढुङ्गा साबित हुने बताए।

  • ७ श्रावण २०८३, बिहीबार ११:५५ प्रकाशित