पोखरा, ८ साउन। निर्देशक माओत्से गुरुङद्धारा निर्देशित नेपाली चलचित्र ‘पेन्सन पट्टा’ भदौ २६ गते प्रदर्शनमा आउने भएको छ । हरितालिका तीजको अवसर पारि प्रदर्शनमा आउन लागेको चलचित्र ‘पेन्सन पट्टा’को पहिलो गीत ‘जुनी जाला’ हालै सार्वजनिक गरिएको छ।
गीतमा अभिनेता दयाहाङ राई, बुद्धि तामाङ, विल्सन विक्रम राई, गौमाया गुरुङ, माओत्से गुरुङ लगायतका कलाकारको आकर्षक प्रस्तुति देख्न सकिन्छ। हर्क साउदको शब्द, मनोज थापा मगरको संगीत र सरुन गुरुङ, राजबहादुर गुरुङ, उषा गुरुङ र प्रिया गुरुङको स्वर रहेको सो गीतको कोरियोग्राफी कमलबहादुर गुरुङले गरेका हुन्।
गुरुङ समुदायको सांस्कृतिक परिवेश, भेषभूषा र मौलिक जीवनशैलीलाई कलात्मक ढंगले प्रस्तुत गरिएको गीतले दर्शकमाझ विशेष आकर्षण सिर्जना गर्ने अपेक्षा गरिएको छ। सो गीतले प्रेम, समर्पण र जीवनभर सँगै रहने प्रतिबद्धताको भावलाई प्रस्तुत गरेको छ। गुरुङ संस्कृतिअनुसार सजाइएको मौलिक परिवेशमा स्थानीय जीवनशैली, प्राकृतिक सौन्दर्य र ग्रामीण परिवेशलाई गीतमार्फत जीवन्त बनाइएको छ। चलचित्रको मूल कथावस्तु, पात्रहरूको जीवनयात्रा, पारिवारिक सम्बन्ध, संघर्ष र गाउँले परिवेशलाई समेत गीतले प्रभावकारी रूपमा संकेत गरेको छ।
निर्देशक एवम् अभिनेता माओत्से गुरुङका अनुसार ‘पेन्सन पट्टा’ आशा, संघर्ष र मानवीय संवेदनालाई केन्द्रमा राखेर जीवनमा लक्ष्य प्राप्तिका लागि गर्नुपर्ने संघर्षको कथा हो। माओत्से गुरुङ फिल्म्सको ब्यानरमा निर्माण भएको चलचित्रको कथा पनि माओत्से गुरुङकै हो।
चलचित्रमा पुष्कर गुरुङ, पाशुपति राई, स्वर्गीय सुनिल थापा, सोल गुरुङ, मनोज गुरुङ, अनुशा राई तथा लुनिभा तुलाधरलगायत कलाकारले अभिनय गरेका छन् । चलचित्रमा सुशन प्रजापतिको छायांकन, नेमिश श्रेष्ठ र केर डी। कोइच लिनुचको सम्पादन, राजेन्द्र मोक्तानको कलर ग्रेडिङ, उत्तम न्यौपानेको साउन्ड डिजाइन, नवीन श्रेष्ठको सिन्क साउन्ड, मनोज श्रेष्ठको भिएफएक्स तथा राजु याक्चाको कला निर्देशन रहेको छ।
चलचित्रका निर्माता मिन कोन्मे गुरुङ ‘यूके’, भोजबहादुर गुरुङ ‘यूके’, माया गुरुङ ‘हङकङ’ र सपना गुरुङ हुन् । प्रोडक्सन म्यानेजर डी. बी. गुरुङ रहेका छन्। चलचित्रले ग्रामीण जीवन, पारिवारिक सम्बन्ध, प्रेम, त्याग र मानवीय संवेदनाको कथा दर्शकमाझ सशक्त रूपमा प्रस्तुत गर्ने निर्माण पक्षको विश्वास छ।
चलचित्रको वितरण अधिकार आरआर फिल्म्सले लिएको छ। निर्माण टिमका अनुसार हालसम्म हङकङ, अस्ट्रेलिया, न्युजिल्यान्ड र बेलायतका लागि प्रदर्शन अधिकार बिक्री भइसकेको छ भने अन्य देशसँग पनि प्रदर्शनबारे छलफल भइरहेको निर्देशक गुरुङले जानकारी दिए ।






