कालीगण्डकी गाउँपालिका स्याङजामा ३ सन्तान जन्माउनेलाई अनुदान
  • जरूवाखबर

  • पोखरा, ९ साउन । कालीगण्डकी गाउँपालिका स्याङजाले तीन सन्तान जन्माउने १७ परिवारलाई अनुदान उपलब्ध गराएको छ । गाउँपालिकाका १७ परिवारलाई मासिक ४ हजार रुपैयाँ अनुदान उपलब्ध गराईएको पालिकाका स्वास्थ्य शाखा प्रमुख एकबहादुर थापाले जानकारी दिए ।

    ‘पालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहयता प्रदान गर्ने कार्यविधि २०८२ बमोजिम यो वर्ष १७ परिवारलाई अनुदान दिएका हौं’ थापाले भने । कार्यविधि अनुसार तीन सन्तान जन्माउने परिवारले तोकिएको र आवश्यक परेको कागजपत्र पुरा गरेमा दुई वर्षसम्म मासिक चार हजार रुपैयाँ प्रदान गरिनेछ ।

    सरकारको नीति दुई सन्तान ईश्वरको वरदान भन्ने रहेपनि पालिकाले घट्दो जनसंख्याको दरलाई रोक्न र जनसंख्या वृद्धि गर्नमा उत्साहित गराउन पालिकाले यो कार्यविधि ल्याएको जनाएको छ ।

    कार्यविधि अनुसार सो पालिकाभित्र स्थायी रुपमा बसोबास गर्नेले २०८२ साल साउन महिनाभन्दा पछि तेस्रो सन्तान जन्माएको परिवारले आवश्यक कागजपत्रसहित वडा कार्यालयमा पेश गर्न पालिकाले सूचना जारी गरेको थियो ।

    निवेदन, आमाबुबाको नागरिकताको प्रतिलिपि, विवाह दर्ता प्रमाणपत्र, तीनवटै सन्तानको जन्मदर्ता प्रमाणपत्र, बसाईसराईको हकमा बसाईसराई प्रमाणपत्रसहित निवेदन दिएका १७ जना परिवार अनुदानकालागि योग्य भएका हुन् ।

    यसैबीच पालिकाको कार्यविधि अनसार अनुदानमा योग्य हुन बच्चा नेपाल सरकारको सूचिकृत स्वास्थ्य संस्थामा जन्मिएको हुनुपर्नेछ ।

  • ९ श्रावण २०८३, शनिबार १६:५२ प्रकाशित