पोखरा, १२ साउन । पोखरा महानगरपालिका-६ बैदामको स्ट्रिट नं १० स्थित फ्रेस जुस सेन्टरलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । उपभोक्ता स्वास्थ्यमा लापरवाही गरेको पाइएपछि सेन्टरलाई जरिवाना गरिएको हो ।
जुस सेवन गरेपछि उपभोक्ता बिरामी भएको गुनासो आएपछि कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रंगत बरालको नेतृत्वमा मंगलबार पसलको निरीक्षण गरिएको थियो । अनुगमनका क्रममा पसलमा पर्याप्त सरसफाइ नभएको, पेसा तथा व्यवसायसम्बन्धी आवश्यक कागजात उपलब्ध गराउन नसकेको टोलीले जनाएको छ ।
यसैगरी पसलमा प्रयोग गर्न नमिल्ने अवस्थाका झण्डै १२ केजी फलफूल भेटिएका छन् । जसमा कुहिएका स्याउ, केरा, मौसम, आँप, अनार र मेवा रहेका थिए । यी फलफूलको बजार मूल्य ३ हजार ४ सय ७० रुपैयाँ रहेको छ । टोलीले ती सबै अखाद्य फलफूलहरु तत्काल नष्ट गरिदिएको छ ।
अनुगमन टोलीमा पोखरा महानगरपालिका, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिहरु सहभागी थिए । प्रशासनले पसल सञ्चालकलाई विभिन्न सुधारका निर्देशनहरु समेत दिएको छ । प्रशासनले पसल र जुस बनाउन प्रयोग हुने सामग्रीहरुको नियमित सरसफाइ गर्न निर्देशन दिएको छ ।
व्यवसाय दर्ता र नापतौलका लागि प्रयोग हुने सामग्रीहरुको समयमै नवीकरण गर्न भनिएको छ । व्यवसायसँग सम्बन्धित सबै कागजातहरु सबैले देख्ने गरी राख्नुपर्ने नियम बनाइएको छ । जुसमा कुनै पनि प्रकारका अखाद्य रङ वा फ्लेवर प्रयोग नगर्न समेत सचेत गराइएको छ ।






