गीताञ्जली साहित्य रत्न पुरस्कार श्रेष्ठलाई प्रदान गरिने

रुना साहित्य पुरस्कार भट्टलाई र तुलसी-मुवा-अहिल्या बालसाहित्य पुरस्कार प्रमिला सुनारलाई

  • जरूवाखबर

  • पोखरा, १७ साउन । गीताञ्जली साहित्य रत्नबाट साहित्यकार सरस्वती श्रेष्ठ  सरु’ पुरस्कृत हुने भएकी छन् । गीताञ्जली साहित्य परिवार पोखराद्वारा प्रदान गरिने उक्त पुरस्कारबाट पोखरामा रही लामो समयदेखि साहित्य साधनामा क्रियाशिल श्रेष्ठलाई पुरस्कृत गरिने भएको हो ।

    यसैबीच रुना साहित्य पुरस्कार मुक्तककार पार्वती भट्टलाई र तुलसी-मुवा-अहिल्या बालसाहित्य पुरस्कार प्रमिला सुनारलाई प्रदान गरिने भएको छ ।

    सूर्यपाल-१ लमजुङमा जन्मेर पोखरालाई कर्मक्षेत्र बनाई साहित्य साधनामा लागिरहेकी सरस्वती श्रेष्ठका थुँगाथुँगा जिन्दगानी ‘गीतसङ्ग्रह-२०६३’, एक झुल्को घाम ओर्लेर सडकमा ‘कवितासङ्ग्रह-२०६७’, फूलहरूको आँधी ‘कवितासङ्ग्रह-२०७४’, किट्टी ‘बाल कथासङ्ग्रह-२०७६’ प्रकाशित छन् । पोखरा प्रज्ञा-प्रतिष्ठानकी सदस्यसमेत भईसकेकी श्रेष्ठ यसअघि विभिन्न पुरस्कारबाट पुरस्कृत भइसकेकी छन् ।

    यसैगरी डोटीको नुवाकोटमा जन्मेर अमरगढी-५, डडेल्धुरामा रहेर साधनारत मुक्तककार पार्वती भट्ट २०५७ सालदेखि साहित्य साधनामा क्रियाशील छन् । उनका मुक्तक विधातर्फ अनिदा सपनाहरू २०७८ र शीतको समुद्र २०८३ प्रकाशित छन् ।

    पोखरा-७,एयरपोर्ट निवासी बाल प्रतिभा प्रमिला सुनार संस्थाद्वारा सञ्चालित मासिक साधनाप्रभात कार्यक्रममा नियमित उपस्थित भएर आफ्नो प्रतिभा प्रस्फुटन गराउने सिर्जनशील प्रतिभा हुन् । उनी शिशुकल्याण स्कुलमा अध्ययनरत छन् ।

    गीताञ्जली रत्न साहित्य परिवारद्वारा स्थापित र सञ्चालित रहँदै आएको पुरस्कार हो भने रुना साहित्य पुरस्कार माता रुक्मिणा अधिकारी र पिता नारायणदत्तको स्मृतिमा मुक्तकमणि तीर्थराज अधिकारी परिवारद्वारा स्थापित र गीताञ्जली परिवारद्वारा सञ्चालित पुरस्कार रहेको छ । दुवै पुरस्कारको राशि २५ हजार ११ रुपैयाँ, सम्मानपत्र र दोसल्ला रहेको छ ।

    आफ्ना बाबा-आमाको सम्मान तथा स्मरणमा साहित्यकार तिलक पौडेल स्याँर्कोटेले तुलसी-मुवा-अहिल्या बाल साहित्य पुरस्कार कोष स्थापना गरेका हुन् ।

    साहित्यकार असफल गौतमको संयोजकत्वमा शिवप्रसाद गौतम र लक्ष्मी थापा रहेको प्रतिभा चयन समिति गठन गरिएको थियो । समितिको सिफारिसलाई समितिको बैठकले सर्वसम्मत अनुमोदन गरेको हो ।

    पुरस्कार संस्थाको अधिवेशन समारोह बीच यही साउन २४ गते प्रदान गरिने परिवारका अध्यक्ष भानु भण्डारी छितिजले जानकारी दिए ।

     

  • १७ श्रावण २०८३, आईतवार १५:५८ प्रकाशित