पत्रकारका लागि ‘सञ्चारमा क्वान्टम हिलिङ’ कार्यक्रम
  • जरूवाखबर

  • पोखरा, १७ साउन। सञ्चारिका समूह नेपाल गण्डकी र ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय जरेबरको संयुक्त आयोजनामा पोखरामा सञ्चारकर्मीका लागि ‘सञ्चारमा क्वान्टम हिलिङ’ अभिमुखीकरण सम्पन्न भएको छ ।

    कार्यक्रममा प्रमुख प्रशिक्षक ब्रह्माकुमार विजयराज सिग्देलले वेलनेस हिलिङले आत्मबल र निर्णय क्षमता बढाउने बताए । उनले पत्रकारहरूले दैनिक रूपमा उच्च कार्यचाप झेल्नुपर्ने बताउँदै यसका लागि मानसिक सन्तुलन र मेडिटेसनलाई जीवनशैलीको हिस्सा बनाउन सुझाव दिए । ‘क्वान्टम हिलिङले पत्रकारको मानसिक र आत्मिक स्वास्थ्य सुदृढ हुनु सहयोग पुर्याउछ, जुन समाजकै लागि लाभदायक छ’ उनले भने ।

    ब्रह्माकुमारी ईश्वरीय विश्वविद्यालय जरेबरकी सञ्चालिका पूनम दिदीले सञ्चारकर्मीहरू समाजका संवाहक भएको बताइन् । उनीहरूको भावनात्मक स्वास्थ्यलाई ध्यानमा राखेर यस्तो सहकार्य गरिएको स्पष्ट पार्दै आगामी दिनमा पनि सञ्चारिका समूहसँग मिलेर यस्ता रचनात्मक काम गर्ने उनले प्रतिबद्धता जनाइन् ।

    सञ्चारिका समूह गण्डकीकी अध्यक्ष राधिका कँडेलले पत्रकारको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिएर कार्यक्रम गरिएको बताइन् । यस्ता अभ्यासले पत्रकारको कार्यक्षमतामा सकारात्मक प्रभाव पार्ने अध्यक्ष कँडेलले विश्वास व्यक्त गरिन् ।

    प्रशिक्षणका क्रममा सहभागीहरूलाई ध्यानको प्रयोगात्मक अभ्यास समेत गराइयो । पोखराका सञ्चारकर्मीहरूको उल्लेख्य सहभागिता रहेको कार्यक्रमका सहभागी सञ्चारकर्मीहरूले यो कार्यक्रम तनाव व्यवस्थापनका लागि निकै प्रभावकारी रहेको प्रतिक्रिया दिए । यसले आत्मिक सशक्तीकरण र व्यावसायिक दक्षता बढाउन मद्दत पुग्ने उनीहरूको भनाइ थियो ।

    सञ्चारिका समूह गण्डकीकी अध्यक्ष राधिका कँडेलको अध्यक्षतामा भएको कार्यक्रम उपाध्यक्ष कञ्चन थापाले सञ्चालन गरेकी थिइन् ।

    कार्यक्रमले पत्रकारहरूमा सकारात्मक सोच र जिम्मेवार सञ्चार संस्कृतिको विकासमा टेवा पुग्ने आयोजकले जनाएका छन् ।

  • १७ श्रावण २०८३, आईतवार ११:११ प्रकाशित