गोर्खा भर्ती सुचारुको मागसहित पोखरामा प्रदर्शन
  • जरूवाखबर

  • पोखरा, २७ साउन । भारतीय भूतपूर्व सैनिक गोर्खा ब्रिगेड नेपाल पोखराको आयोजनामा गोर्खा भर्ती सुचारुको मागसहित बुधवार प्रदर्शन गर्नुका साथै ज्ञापनपत्र बुझाईएको छ । विरोध र्याली पश्चात उनीहरुले जिल्ला प्रशासन कार्यालय कास्की मार्फत संघ सरकारलाई दुई बुँदे ज्ञापन पत्र बुझाएका छन् ।

    ज्ञापनपत्रमा भारतीय सेनामा नेपाली युवाहरूको भर्ती प्रक्रिया पुनः सुचारु गर्न र सैनिक शब्द उल्लेख भएका भूपू सैनिकका संघसंस्थाहरूको नवीकरण सहज बनाउन माग गरिएको छ । भारत सरकारले ल्याएको ‘अग्निपथ योजना’ का विषयमा कुरा नमिल्दा यो भर्ती प्रक्रिया सनु २०२२ जुन १४देखि स्थगित छ । अग्निपथ योजनामा भारतले ४ वर्षका लागि मात्रै सैनिक सेवामा राख्ने गरी नयाँ नियम ल्याएको र सो नयाँ नियम अन्तर्गत चार वर्षको सेवा र पेन्सनको अनिश्चितताबारे नेपाल सरकारले औपचारिक धारणा नबनाएपछि नयाँ भर्ती प्रक्रिया स्थगन भएको हो ।

    सन् २०२२ जुन १४ देखि भारत सरकारले ल्याएको अग्निपथ योजनापश्चात् रोकिएको गोर्खा भर्ती प्रक्रियालाई तत्काल सुचारु गर्न माग गरिएको ब्रिगेडका अध्यक्ष कर्नल कृष्णबहादुर खत्रीले जानकारी दिए । ‘भारतले अग्निपथ योजना सुरु गरेपछि नेपाल सरकारले विभिन्न कारण देखाउँदै नेपाली युवाहरूलाई भारतीय सेनामा भर्ती हुनबाट वञ्चित गरेको छ’ उनले भने, ‘जसले गर्दा रोजगारी गुम्नुका साथै पुर्खाले आर्जेको बहादुरीको इतिहास समेत मेटिने अवस्था आइपुगेको छ ।’

    अग्निपथ योजना अन्तर्गत युवाहरूले धेरै अवसर प्राप्त गर्ने भन्दै उनीहरूले खाडी मुलुकको कठिन श्रमभन्दा यो अवसर उपयुक्त रहेको बताए । ‘चार वर्षको अवधिमा युवाले विभिन्न सुविधासहित करिब ४५ देखि ५० लाख रुपैयाँसम्म कमाउँछन् । यो पेसा अरबको ५० डिग्री सेल्सियस तापक्रम भएको खाडीमा गएर न्यूनतम तलबमा काम गर्नुभन्दा सयौँ गुणा राम्रो छ,’ सरकारलाई पठाइएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

    गृह मन्त्रालयको परिपत्रका कारण सैनिक शब्द जोडिएका भूपू सैनिकका संघ संस्थाहरूको नवीकरण रोकिएको भूपूहरुको आरोप छ । गृह मन्त्रालयले २०८१ वैशाख ४ गतेको निर्देशनमार्फत सैनिक शब्दले नेपाली सेनालाई मात्र बुझाउने भन्दै यस्ता संस्था नवीकरण नगर्न निर्देशन दिएको थियो ।

    यही निर्णय पछि देशभरका भूपू सैनिकहरूलाई मर्का परेको खत्रीले बताए । आफूहरूको माग सम्बोधन नभए सङ्घर्षका थप कार्यक्रम सार्वजनिक गरिने उनीहरूको चेतावनी छ ।

    अङ्ग्रेज-नेपाल युद्धका क्रममा ब्रिटिश इस्ट इन्डिया कम्पनीले गोर्खा सैनिकको वीरताबाट प्रभावित भएर सन् १८१५ मा पहिलोपटक नेपालीलाई आफ्ना सेनामा सामेल गराएको थियो।

  • २७ श्रावण २०८३, बुधबार १९:२५ प्रकाशित