पृथ्वीचोकमा निर्मित ‘पोखरा घर’को उदघाटन
  • जरूवाखबर

  • पोखरा, २९ साउन । पोखरा महानगरपालिका-९ पृथ्वीचोकमा निर्माण गरिएको ‘पोखरा घर’को शुक्रबार औपचारिक उद्घाटन गरिएको छ।

    महानगरपालिकाको सक्रियतामा निर्माण गरिएको पोखरा घरको पोखरा महानगर प्रमुख धनराज आचार्यले उदघाटन गरेका हुन् । स्थानीय उत्पादनको प्रवर्द्धन, प्रदर्शन र बजारीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको उक्त पोखरा घरको उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख आचार्यले स्थानीय स्तरमा उत्पादित मौलिक सामग्रीको प्रदर्शन तथा बिक्री वितरणका लागि पोखरा घर साझा थलो बन्ने बताए ।

    विशेषगरी पोखरा भ्रमणमा आउने पर्यटकलाई लक्षित गरी सञ्चालनमा ल्याइएको कोसेली घरमा स्थानीय हस्तकला, घरेलु तथा मौलिक उत्पादनलाई प्राथमिकता दिइने बताउँदै उनले पोखराको सभ्यता, संस्कृति र पहिचानलाई पर्यटकमाझ चिनाउने उद्देश्यले ‘पोखरा घर’ निर्माण गरिएको बताए ।

    एउटै छानामुनि अत्याधुनिक प्रविधि र व्यवस्थापन सहित ज्ञान, कला, संस्कृति र पर्यटन केन्द्रका रुपमा महत्त्वपूर्ण कार्यसम्पादन हुने गरि पोखरा घरले पोखरा सार्वजनिक पुस्तकालय मार्फत पठन संस्कृतिको विकास, पोखरा आर्ट ग्यालरी मार्फत कलाको उत्थान, स्थानीय उत्पादन मार्फत आत्मनिर्भरताका लागि अभिप्रेरित र पर्यटन सुचना केन्द्रले समग्र पोखराको चिनारीको प्रवर्द्धन गर्ने विश्वास छ।

    उद्घाटन समारोहमा पोखरा घर निर्माणका लागि जग्गा उपलब्ध गराउने जग्गादाता तथा विभिन्न रूपमा सहयोग गर्ने सहयोगीका परिवारलाई सम्मानसमेत गरिएको थियो।

    स्थानीय उत्पादनलाई बजारसँग जोड्दै पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउने उद्देश्यले निर्माण गरिएको उक्त संरचनामा महानगरपालिकाले कुल ५ करोड १२ लाख २६ हजार २ सय ४६ रुपैयाँ खर्च गरेको जनाएको छ।

     

  • २९ श्रावण २०८३, शुक्रबार १५:५७ प्रकाशित