हामी आज कति सुरक्षित छौं?
  • जरूवाखबर

  • केही दिन अघि मात्रै बारा सिमराकी तीन वर्षीया अबोध बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनाले सिंगो देश स्तब्ध र आक्रोशित बनेको छ । आईतबार मात्रै चितवनमा आफ्नै बाबाद्धारा एक किशोरी बलात्कृत भएको घटना सार्वजनिक भएको छ । गत भदौं २ गते रामेछापमा ६१ वर्षीया एकल महिलामाथि जबरजस्ती करणी भएको घटना पनि हामीले पढ्यौ, सुन्यौं । यी घटनाहरु उदाहरण मात्रै हुन् । बोली पनि स्पष्ट खुल्न नसकेका सानी बालिकादेखि वृद्धासम्मका महिलामाथि हुने यौनजन्य हिंसा र हत्याका घटनाले अहिले नेपाली समाजको सामाजिक विघटन गहिरो रहेको स्पष्ट पार्छ ।

    केही वर्षयता घटेका हिंसा र हत्याका साथै अपराधिक घटनाहरु हेर्ने हो भने नेपाली समाजमा बालिका, किशोरीका साथै महिलामाथि हुने यौन हिंसाका घटना निरन्तर बढिरहेका छन् । नेपाल प्रहरी र विभिन्न मानवअधिकारवादी संस्थाहरूको वार्षिक प्रतिवेदनलाई हेर्ने हो भने हरेक वर्ष औसतमा ६ देखि ८ जना महिला तथा बालिकाहरूको बलात्कारपछि हत्या हुने गरेको देखिन्छ । विगत साढे दुई वर्षको अवधिमा मात्रै बलात्कारका कुल घटनाहरूमध्ये १६ जनाको बलात्कारपछि हत्या भएका नेपाल प्रहरीको तथ्याङ्क छ ।

    निर्मला पन्त, भागरथी भट्ट, सम्झना बिक, इनिशा बिक हुदै गरिमा चौधरीमात्र होइन वृद्धा महिलामाथि भएका एकपछि अर्को घटनाले विकृत समाजको तस्विर देखाउँदछ । दिनुहँ बढ्दै गएको यस्तो सामाजिक पतनले सिंगो समाजलाई झस्काएको छ । साना बालिकादेखि वृद्धासम्ममाथि हुने यस्ता जघन्य अपराधले मानवताको सीमा नाघेको छ । नैतिक पतनका यस्ता घटनाहरु प्रायः आफ्नै घरपरिवारका सदस्य, चिनेजानेका र आसपासकै व्यक्ति संलग्न हुने प्रवृत्तिले अझ घर-परिवार मात्र होइन सिंगो समुदायसमेत असुरक्षित बनेको सन्देश दिन्छ ।

    हामी जहिल्यै पनि न्याय, समानता, शान्ति र अधिकारमा आधारित सहअस्तित्वको सभ्य समाजको परिकल्पना गर्छौ तर तीन वर्षकी बालिकासम्मलाई सुरक्षित राख्न नसक्ने कस्तो समाज निर्माण गर्दैर्छौ ? उमेरले ६ दशक पार गरीसकेकी वृद्धा महिलाको सम्मान गर्न नसक्ने कस्तो मानसिकता विकास गर्दैछौं ? जन्मिएर आफ्नै आँगन बुझ्न नसकेका साना बालिकादेखि जीवनजगत बुझिसकेका वृद्धाको सम्मान र संरक्षण गर्न नसक्ने समाज कसरी सभ्य बन्न सक्छ ? पछिल्लो घटनाक्रमहरुलाई हेर्ने हो भने नेपाली समाज आज एउटा गम्भीर तर वेवस्ता गरिएको मानसिक स्वास्थ्य संकटबाट गुज्रिएको छ । असन्तुलित व्यक्ति र संकटग्रस्त मानसिक स्वास्थ्यले सभ्य समाज निर्माणमा संकट उत्पन्न गराउँदछ र समाज पनि बिग्रिन्छ ।

    राष्ट्रिय तथ्याङ्क हेर्ने हो भने नेपालमा १८ वर्षमाथिका १० प्रतिशत वयस्कले आफ्नो जीवनकालमा कुनै न कुनै मानसिक समस्या भोगेकाछन् । यो व्यक्तिगत कमजोरी मात्र होइन, व्यक्तिगत विकृति मात्र होइन, सामाजिक संरचनाको असफलता हो । सामाजिक सञ्जालको दुरुपयोग, मादक पदार्थ तथा लागूऔषध दुर्व्यवसन, पारिवारीक विखण्डन, आर्थिक असमानता, बेरोजगारी, कमजोर निगरानी जस्ता दण्डहिनताको संस्कृतिले यसलाई मलजल गरेको छ ।

    सभ्य समाज निमार्ण, महिला र बालबालिकाको सुरक्षा राज्यको प्राथमिक कर्तव्य हो । तर बारम्बार दोहोरिने यस्ता अपराधिक घटनाले राज्य संयन्त्रको असफलता उजागर गर्छ । मुलुकमा कानुन छ, तर कार्यान्वयन फितलो छ । अनुसन्धान ढिलो हुने, प्रमाण नष्ट हुने र दोषीलाई बचाउने प्रवृत्तिले पीडित परिवारलाई दोहोरो पीडा भोग्न बाध्य भईरहेको अवस्था छ । बालिका गरिमाको घटनामा समेत प्रारम्भिक खोजी ढिलो भएको आरोप उठेको छ, जसले सुरक्षा निकायप्रति जनआस्था कमजोर बनाएको छ ।

    अब सधै प्रदर्शन, विरोध र आक्रोश मात्र पर्याप्त छैन । दोषीलाई कडाभन्दा कडा सजाय सुनिश्चित गर्नुपर्छ । नाबालक अभियुक्त भए पनि गम्भीर अपराधमा उमेरलाई बचाउको ढाल बन्न दिनु हुँदैन । दोषीलाई कठोर सजाय नभएसम्म र भविष्यमा यस्ता घटना रोक्ने ठोस कदम नभएसम्म समाजमा गरिमाको हत्यापछि देखिएको यो आक्रोश शान्त हुनेछैन ।

    दिनहुँ जसो बढिरहेको अपराधिक गतिविधि निर्मुल गर्न समुदायमा सचेतना, अभिभावकीय निगरानी, विद्यालयमा सुरक्षा शिक्षा र प्रहरीको सक्रिय उपस्थिति बढाउनुपर्छ । सामाजिक सञ्जाल र मिडियाले पनि पीडित र पीडितको परिवारलाई थप चोट नपुग्ने गरी जिम्मेवारीपूर्वक घटनालाई उठाउनु नितान्त आवश्यक छ ।

    गरिमा चौधरीको मृत्युले हामी सबैलाई प्रश्न गरेको छ- के हामी यस्तो समाज बनाउन चाहन्छौं जहाँ तीन वर्षकी बालिका पनि सुरक्षित छैनन् ? गरिमाको आत्मा र सबै पीडित बालिकाहरूको न्यायकालागि समाज जाग्नुपर्छ । समाजको मौनताले अर्को अपराधि जन्माउँछ, अपराधिलाई उन्मुक्ति होइन, कडा कारवाही चाहिन्छ ।

  • ८ भाद्र २०८३, सोमबार ०७:४७ प्रकाशित