काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि कैलाश मानसरोवर यात्रासहित रसुवा क्षेत्रमा रहेका ४ सय ८४ जना पर्यटक तथा तीर्थयात्री सम्पर्कविहीन भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
कार्यालयले बुधबार साँझ ७ बजेसम्मको सार्वजनिक विवरणअनुसार भोटेकोशी बाढीपछि ४ सय ४ जना कैलाश यात्रासँग सम्बन्धित पर्यटक तथा बाँकी पर्यटक तथा यात्रु सम्पर्कविहीन भएका छन् । त्यसमध्ये कैलाश यात्रासँग सम्बन्धित ३ सय ९१ जना विदेशी र १३ जना नेपाली रहेको तथ्यांकमा उल्लेख छ ।
पर्यटन बोर्डका निमित्त सीईओ हिक्मत सिंह ऐरका अनुसार विभिन्न १० वटा ट्राभल तथा ट्रेकिङ एजेन्सीबाट संकलन गरेको विवरणअनुसार सम्पर्कविहीन भएकाहरूमा कैलाश मानसरोवर यात्राका लागि रसुवा पुगेका तीर्थयात्रीसँगै अन्य पर्यटक तथा पदयात्रीसमेत छन् । बोर्डको विवरणअनुसार सम्राट टुर्स एन्ड ट्राभल्समार्फत गएका ७१ जना सम्पर्कविहीन छन् । उनीहरूमध्ये ५९ भारतीय र १२ नेपाली छन् । काठमाडौं होलिडे टुर्स एन्ड ट्राभल्सका १७ जनामध्ये एक अस्ट्रेलियाली, एक नेदरल्यान्ड्सका र १५ नेपाली छन् ।
त्यस्तै, लिफ होलिडेमार्फत गएका ५५ जनामध्ये ४६ भारतीय र नौ नेपाली छन् । कैलाश यात्राका ३१ जनामध्ये २६ विदेशी र पाँच नेपाली छन् । एक्सप्लोर भ्याकेसनका सातै जना नेपाली, ट्रेकर्स सोसाइटीका ९२ जनामध्ये ७७ विदेशी र १५ नेपाली तथा रिचा टुर्स एन्ड ट्राभल्सका १२ जनामध्ये आठ विदेशी र चार नेपाली रहेको बोर्डको विवरणमा छ ।
त्यसैगरी फिसटेल टुर्स एन्ड ट्राभल्सका २७ जनामा तीन अमेरिकी, १७ मलेसियाली र सात नेपाली छन् । हिमालयन ग्लेशियरका ५२ जनामध्ये ३७ गैरआवासीय भारतीय र १५ नेपाली छन् । अल्पाइन इको ट्रेकका २० जनामध्ये १२ बेलायती, चार दक्षिण अफ्रिकी र चार नेपाली रहेको बोर्डले जनाएको छ ।
पर्यटन बोर्डको तथ्यांकमा भारतीय यात्रुको संख्या मात्रै १ सयभन्दा बढी देखिएको छ भने गैरआवासीय भारतीयको समूह पनि छुट्टै उल्लेख गरिएको छ । पर्यटन क्षेत्रको समन्वयका लागि नेपाल पर्यटन बोर्डले सम्पर्कविहीन पर्यटक तथा उनीहरूका परिवारका लागि टोल फ्री नम्बर १२३४ र पर्यटक प्रहरीको हटलाइन ११४४ उपलब्ध गराएको छ ।






