पोखरा, १३ भदौ। पोखरा महानगरपालिका वडा नं १७, हर्कमेयर चोकमा सडक नालीको पानीको भेलले बगाउँदा घाईते भएका आमा-छोरीको मृत्यु भएको छ।
मृत्य हुनेमा पोखरा-३० ढुंगेपाटन निवासी २६ वर्षीया सुष्मा दाहाल र उनकी २ वर्षिय छोरी रानीका दाहाल रहेका छन् । उपचारकोक्रममा गण्डकी मेडिकल कलेजमा उनीहरुको मृत्यू भएको कास्की प्रहरीले जनाएको छ ।
उपचारका क्रममा सुष्मा दाहालको हिजो राति ९:४० बजे मृत्यु भएको प्रहरीले जनाएको छ। उनकी २ वर्षीया छोरी रानीका दाहालको भने १३ अघि बिहान १:२१ बजे उपचारकै क्रममा मृत्यु भएको हो। दुवैको शव गण्डकी मेडिकल कलेजमा राखिएको जनाईएको छ ।
ग १३ प २८५९ नम्बरको स्कुटरमा आमा सुष्मा छोरी रानीलाई लिएर बिरौटादेखि पृथ्वीचोकतर्फ जाँदै थिए। भारी वर्षाले सडकमा भेल बढेपछि हर्कचोकमा स्कुटर रोक्ने क्रममा दुई वर्षीया रानीलाई अचानक भेलले बगाएर सडकको नालीमा पुर्यायो। छोरीलाई बचाउन आमा सुष्मा पनि नालीमा पुगिन्। त्यसपछि तीव्र भेलले आमा–छोरी दुवैलाई करिब दुई किलोमिटर तल बिरौटासम्म बगायो।
घटनापछि प्रहरी नायब उपरीक्षक सूर्यबहादुर बोगटीको कमाण्डमा २१ जनाको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा उद्वार गरी उपचारका लागि गण्डकी मेडिकल कलेज पठाइएको थियो।
यस्तो घटना पोखरामा दोहोरिरहने घटना हो । पोखरालाई स्मार्ट सिटी बनाउने भाषण गर्दै आएका महानगरका जनप्रतिनिधिहरुले दीर्वघकालिन समस्याको रुपमा वर्षौदेखि समस्या ढल र नाली व्यवस्थापनमा ठोस काम गर्न नसकेको आरोप लाग्दै आएको छ। वर्षा पर्नेबित्तिकै सडक नदी र खोला बन्ने समस्या जस्ताको तस्तै छ। अधिकांश ठाउँमा पानी परेपछि पैदल यात्री हिँडडुल गर्न समेत असहज हुन्छ।
पोखराको मुख्य बजार क्षेत्र र आसपासका सडकहरूमा उचित ढल व्यवस्था नहुँदा सामान्य वर्षामा समेत सडक डुबानमा पर्ने र भेल बग्ने अवस्था दोहोरिरहेको छ। यो समस्या पोखरेलीकालागि गम्भीर चिन्ताको विषय बनेको छ ।






